दार्चुलामा एमालेको चुनावी घोषणापत्र सार्वजनिक

२ बर्ष अघि

२0७९ बैशाख ९ शुक्रबार

दार्चुलामा एमालेको चुनावी घोषणापत्र सार्वजनिक

दार्चुला । दार्चुलामा एमालेले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पोलिटब्युरो सदस्य एवं सुदूरपिश्चम प्रदेश सह–ईञ्चार्ज पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा जोड दिइएको छ । जिल्लाका ९ वटै स्थानीय तहले लागू गर्ने गरी शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा जोड दिँदै एमालेले घोषणा पत्र सार्वजनिक गरेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए ।

घोषणापत्र सबै स्थानीय तहमा निर्वाचन भएको दुई महिनाभित्र कार्यान्वयनमा लगिने एमाले पोलिटव्यूरो सदस्य, सुदूरपश्चिम सहइन्चार्ज गणेशसिह ठगुन्नाले बताए । साझा घोषणापत्रको रुपमा सार्वजनिक गरिएको ९ बुँदे प्रतिबद्धता एमालेले जितेका सबै स्थानीय तहमा एकसाथ र एकै किसिमले कार्यान्वयन गरिने उनले बताए ।

एमालेले स्थानीय तहमा आधारभूत तहमा कक्षा गत र माध्यमिक तहमा विषयगत शिक्षाको व्यवस्थापन गर्ने जनाएको छ । यस्तै सबै जीर्ण पूराना भवन नयाँ निर्माणको सुरुवात हुनेछ । आर्थिक अभावले उपचार पाउन नसकेका तथा जटिल प्रकृतिका विरामीलाई स्थानीय तहले कार्यविधी बनाएर उनीहरुको उपचारको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउने एमाले प्रतिबद्धता छ ।

अपिहिमाल गाउँपालिकाले सुरु गरेको असहाय एकल पुरुष भत्तालाई सबै स्थानीय तहमा लागू गरिने एमाले घोषणापत्रमा उल्लेख छ । अपांगता भएका व्यक्तिहरु ‘क’ र ‘ख’ बर्गकाले मात्रै पाउँदै आएको भत्तालाई ‘ग’ र ‘घ’ बर्गले समेत पाउने व्यवस्था एमालेले गर्ने प्रतिनिधी सभा सदस्य समेत रहनुभएका नेता ठगुन्नाले बताए । लक्षित वर्गको पहुँचमा नपुगेका लक्षित वर्गलाई कार्यविधी निर्माण गरि निश्चिम बजेट व्यवस्थापन हुने घोषणापत्रमा उल्लेख छ ।
नेकपा एमालेले विकासमा समानुपातिक सिद्धान्त ल्याउन हरेक स्थानीय तहमा योजना तथा नीति आयोग गठन गर्ने जनाएको छ । यो आयोगले भौगोलिक तथा हरेक वस्तीस्तरमा समान ढंगले विकास गर्न योजना बनाउने छ ।