काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन बैठक बस्न लागेको हो। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । त्यसअघि एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि बस्दैछ । बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेको भोलिपल्ट एमालेले सचिवालय बैठक डाकेको हो । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।