सशस्त्र द्वन्द्वमा विद्रोही माओवादी, राज्यपक्ष र सर्वसाधारण गरी १७,००० मानिसको ज्यान गएको थियो

२ बर्ष अघि

२0७९ बैशाख ८ बिहीबार

सशस्त्र द्वन्द्वमा विद्रोही माओवादी, राज्यपक्ष र सर्वसाधारण गरी १७,००० मानिसको ज्यान गएको थियो

नेपालमा १० वर्षसम्म चलेको नेकपा माओवादीको सशस्त्र विद्रोहमा प्रयोग गरिएका हतियार नेपाली सेनालाई हस्तान्तरण गरिएको यसै साता एक दशक पूरा भएको छ।

शान्ति सम्झौतामार्फत माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि विसं २०६८ चैत २८ गते माओवादीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादीको तर्फबाट संयुक्त जनमोर्चाका संयोजक बाबुराम भट्टराईले माघ २१ गते बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै उक्त पार्टीले विसं २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह शुरू गरेको थियो।

रोल्पाको होलेरीसहित रूकुम, सिन्धुली र गोरखामा माओवादीले यो दिन एकसाथ सशस्त्र आक्रमण गरेको थियो।अहिलेको नेकपा माओवादी केन्द्रले फागुन १ गतेलाई “जनयुद्ध दिवस” को रूपमा सम्झने गरेको छ।

एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा विद्रोही माओवादी, राज्यपक्ष र सर्वसाधारण गरी १७,००० मानिसको ज्यान गएको विभिन्न तथ्याङ्कमा उल्लेख छ। विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि हतियार विसाएर माओवादी शान्तिपूर्ण राजनीतिमा सामेल भएको हो।
शान्ति सम्झौतापछि सशस्त्र विद्रोह छोडेको माओवादीले आफूसँग भएका ३,४७५ वटा विभिन्न हतियारहरू अनमिनको उपस्थितिमा प्रमाणित गराएको थियो।

तर माओवादी लडाकु व्यवस्थापनमा संलग्न अधिकारीहरूले अन्मिनबाट प्रमाणित नगराएका केही हतियारहरू माओवादीले सेना समायोजनको अन्तिम चरणमा राज्यलाई बुझाएको बताएका छन्। माओवादीकै नेता र एक जना पूर्व लडाकुले पनि यसको पुष्टि गरेका छन्।

माओवादीले प्रमाणित गराएका हतियार सात ठाउँमा रहेका माओवादी लडाकुका शिविरहरूमा राखिएका १४ वटा कन्टेनरभित्र अनमिनको समेत निगरानीमा राखिएको थियो।

सरकार र माओवादीबीच विसं २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा शिविरको सुरक्षाका लागि आवश्यक पर्ने बाहेकका सबै माओवादीका हतियार राष्ट्रसङ्घको निगरानीमा शिविर भित्रै साइरनजडित संयन्त्र सहित भण्डारण गर्ने उल्लेख थियो।

माओवादीले विसं २०६४ चैत्रमा भएको संविधानसभा निर्वाचन अघि नै आफ्ना हतियार अनमिनबाट प्रमाणित गराएर कन्टेनरमा राखेको थियो।
माओवादीले प्रमाणित गराएका मध्ये करिब ५०० वटा हतियार शिविरको सुरक्षाका लागि राखिएको थियो। ती हतियार पनि सेना समायोजन प्रक्रियाको अन्त्यतिर नेपाली सेनालाई बुझाइएको थियो।

सरकारले विसं २०६८ चैतमा माओवादी शिविरको सुरक्षामा नेपाली सेना खटाएसँगै शिविरभित्र कन्टेनरमा राखिएका हतियार सरकारले नेपाली सेनालाई जिम्मा दियो। बिबिसीबाट