दार्चुलामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालय सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइने

२ बर्ष अघि

२0७९ बैशाख ७ बुधबार

दार्चुलामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालय सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइने

दार्चुला ।  दार्चुलामा स्थानीय तह चुनावमा खटिएका निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको छ । यहि वैशाख ३० गते हुने ९ वटा स्थानीय तहमा रहेका जिल्ला निर्वाचन प्रमुख, निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा सशस्त्रले पाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन । हामीले जिल्लाका निर्वाचन प्रमुख, प्रमुख निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा एपिएफ सशस्त्र प्रहरी बललाई दिएका छौ उहाँले भन्नु भयो ।

सशस्त्र प्रहरीले आफ्नो निर्वाचन सुरक्षा योजना केन्द्रीय निर्वाचन सुरक्षा समितिमा पठाएर पास भएपछि जिल्ला र तालिम केन्द्रहरूमा त्यसैअनुसार तालिम दिइरहेको पनि प्रजिअ उपाध्यायले जानकारी दिए । निर्वाचनमा सशस्त्र प्रहरी बलले दोस्रो घेरामा रहेर सुरक्षा दिनेछ । सशस्त्रले निर्वाचनको समयमा फौजलाई कसरी परिचालन गर्ने भन्ने एकीकृत योजनासमेत बनाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका एसपी त्रिभुवन विष्टले जानकारी दिनु भएको छ ।
विहिबार ८ गते जिल्लाका नौ वटै स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागी निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिन लागेको दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिए । 

निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतहरुलाई १ दिने तालिम प्रदान गरी सम्बन्धित कार्य क्षेत्रमा पठाइएको उहाले बताउनुभयो । वैशाख २ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा उनिहरुलाई तालिम प्रदान गरिएको थियो । दार्चुलामा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका केहि निर्वाचन अधिकृतहरु जिल्ला आइ पुगेको तथा केहि आउने क्रममा रहेको बताइएको छ ।

जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले निर्वाचन गराउने तथा अन्य स्थानिय तहहरुमा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका निर्वाचन अधिकृतहरुले निर्वाचन गराउने उहाको भनाई छ । दार्चुलामा सात गाउँपालिका तथा दुई नगरपालिका गरी नौ वटा स्थानिय तह रहेका छन् । जिल्लामा ८८ हजार २ सय १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।