दार्चुलाको व्याँसमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी

२ बर्ष अघि

२0७९ बैशाख ७ बुधबार

दार्चुलाको व्याँसमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी

दार्चुला ।  जिल्लाको सबैभन्दा विकट मतदान केन्द्र रहेको दार्चुलाको व्याँसमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी गरिएको छ । नेपालतिर भएर व्यास गाउँपालिका १ छाङ्गरु तिंकर जान नसकिने भएपछि हेलिकप्टरको तयारी गरिएको हो ।

नेपालतिर हिडेर जानसमेत पैदल गोरेटोबाटो छैन् । अप्ठ्यारो गरि जाने हो भने पाँच दिन बढि छाँंगरु तिंकर पुग्न लाग्छ । वडा नम्बर १ मा दुई वटा मतदान केन्द्र छन् । छांगरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोति महिला संघ आधारभूत विद्यालय तिंकरमा २३१ जना मतदाता छन् ।

यहाँका स्थानीय वैशाख दोस्रो साता बसाई सरेर छांगरु तिंकर जाने तयारीमा छन् । ०७४ सालको स्थानीय निर्वाचनमा पनि स्थानीयले छांगरु तिंकरमै मतदान गरेका थिए । व्यासी सौका समुदायको दोहोरो बस्तीभएको कारण कहिले खलंगा र कहिले छांगरु तिंकरमा मतदान हुने गर्दछ । यो वर्ष अप्ठ्यारो ठाउँमा हेलिकप्टरमार्फत कर्मचारी, निर्वाचन सामाग्री पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बताए ।

यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ११० मतदान स्थल र १३९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । ११० वटा मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । जसअनुसार ११ वटा अतिसंवेदनशील, ११ वटा संवेदनशील अवस्थाकोमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई भूगोल, सीमा, सडक सञ्जाललगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेको हो ।

दुई वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दार्चुलामा सबैभन्दा बढि मतदाता शैल्यशिखर नगरपालिकामा रहेको छ । शैल्यशिखर नगरपालिकामा ७ हजार २४९ पुरुष र ७ हजार ५० महिला गरी १४ हजार २९९ मतदाता रहेका छन् । महाकाली नगरपालिकामा ६ हजार ६६१ जना पुरुष र ६ हजार ६२३ जना महिला गरी १३ हजार २८४ जना मतदाता रहेका छन् ।
गाउँपालिकातर्फ सबैभन्दा कम अपिहिमालमा ४ हजार ६५१ जना र सबैभन्दा बढि मालिकार्जुन गाउँपालिकामा ११ हजार ३२० जना मतदाता छन् ।

यस्तै दुहुँ गाउँपालिकामा ८ हजार २७६ जना, नौगाड गाउँपालिकामा ९ हजार ५९६ जना, व्याँस गाउँपालिकामा ७ हजार ८०४ जना, मार्मा गाउँपालिकामा ९ हजार २८५ जना र लेकम गाउँपालिकामा ९ हजार ७७० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । स्थानीय तहको चुनाव नजिकिंदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् । निर्वाचन कार्यालयहरू आवश्यक तयारीमा जुटेका छन् ।