एमालेको घोषणापत्र अनुमोदन चुनाव सार्ने षड्यन्त्र भएमा कडा प्रतिवाद गर्ने निर्णय

२ बर्ष अघि

२0७९ बैशाख ६ मंगलवार

एमालेको घोषणापत्र अनुमोदन चुनाव सार्ने षड्यन्त्र भएमा कडा प्रतिवाद गर्ने निर्णय

काठमाण्डौ  । पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते शुक्रवार केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सदस्यीय पुर्याएको छ । त्यस्तै, बैठकले थप १२ केन्द्रीय विभागलाई पूर्णता दिनुका साथै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनीत गरेको छ । एमालेले पालिका चुनाव सार्ने षड्यन्त्र भएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय पनि गरेको उपमहासचिव गुरुङले जानकारी दिनुभयो ।