अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको समूह शुक्रवार नेपाल आउँदै

२ बर्ष अघि

२0७९ बैशाख ६ मंगलवार

अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको समूह शुक्रवार नेपाल आउँदै

काठमाण्डौ  । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह यही वैशाख ९ गते आउँदो शुक्रवार नेपाल आउने भएको छ । 

अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउनुहुने भएको हो । उहाँहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै हुनुहुन्छ । उहाँहरू विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । 

नेपालसँगै उहाँहरूले पोल्यान्ड, यूएई, भारत र जर्मनीको नौ दिने भ्रमण गर्नुहुनेछ । नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । 

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अरू विशेष भ्रमणको उद्देश्यबारे पुष्टि नभए पनि रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको पक्षमा समर्थन जुटाउन उहाँहरू विभिन्न देशको भ्रमणमा निस्कन लाग्नुभएको बुझिएको छ । यो समूह वैशाख ११ गते आइतवार नेपालबाट फर्किनेछ ।  
यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाण्डौ आउँदा सिनेटर केली पनि सँगै आउनुभएको थियो ।