सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्ने

२ बर्ष अघि

२0७९ बैशाख ५ सोमबार

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्ने

काठमाडौँ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबीचमा भागबन्डा मिलाउने भनिएको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनको भनाइ छ ।


बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए ।

गठबन्धनको बैठक आइतबार पनि बसेको थियो ।