प्रधानमन्त्री देउवाको भारत भ्रमणमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह ले प्राथमिकता पाएकाले निर्माण छिटै सुचारु हुने

२ बर्ष अघि

२0७९ बैशाख ५ सोमबार

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह ले प्राथमिकता पाएकाले निर्माण छिटै सुचारु हुने

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बन्ने चर्चा डेढ दशकअघिदेखि सुरु भए पनि कामको गति भने अहिले बढेको छ । विसं २०६४ मा सरकारले दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सारेको हो ।

स्थानीयवासीले उठीबास हुने, मुआब्जालगायत विषयमा आशङ्का व्यक्त गर्दै उक्त क्षेत्रमा बनाउन असहमति जनाएपछि दोधारा–चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउने तय भएको थियो ।


इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रको भोगाधिकार र स्रोत निश्चितताका लागि पहल भइरहेको बताएका छन ।

वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन परामर्शदाताले तयार गरिरहेको जानकारी दिदै गजुरेल ले डेढ महिनामा स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गर्ने गरी काम गरिरहेको बताएका छन । “परामर्शदाताले फिल्डमा स्थानीयवासी सित छलफल गरेर राय, सुझाव सङ्कलन गरिसकेको छ”, गजुरेलले भने, “वन मन्त्रालयले स्वीकृति दिनासाथ सुक्खा बन्दगाह निर्माणको ठेक्का लगाउने लगायत कामको बाटो खुल्नेछ ।”

समितिले दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई प्राथमिकतामा राखेर काम दु्रत गतिमा अघि बढाइरहेको गजुरेलको भनाइ छ । सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरुयोजना यसअघि नै तयार भइसकेको छ ।

प्रस्तावित क्षेत्रमा करिब २८० बिघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्ड लगायत संरचना निर्माण गरिनेछ । प्रस्तावित सुक्खा बन्दरगाह हाल महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलदेखि पारिपट्टी एक हजार २०० मिटरको दूरीमा पर्दछ ।

केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले केही दिनअघि सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाहको विषयले प्राथमिकता पाएको जानकारी गराउनुभएको थियो ।
“सुदूरपश्चिमकै महत्वपूर्ण योजनाबारे भएको छलफल सकारात्मक छ”, उनले भनेका छन् ।

यस्तै दोधारा–चाँदनी नगरपालिका का उपप्रमुख चिनी ओझा गिरीले सुक्खा बन्दरगाहको काम चाँडै सुरु हुने बताएका छन ।
यहाँ सुक्खा बन्दरगाह, महाकालीमा चार लेनको पक्की पुल र बेदकोटमा दैजी–छेला औद्योगिक क्षेत्रको स्थापना भए सुदूरपश्चिमले विकासमा फड्को मार्ने उनको भनाइ छ ।