प्रदेश ७ : स्थायी राजधानी र नामाकरण प्रतिवेदन सदनमा पेश हुन ढिलाइ

६ बर्ष अघि

२0७५ भाद्र २२ शुक्रबार

प्रदेश ७ : स्थायी राजधानी र नामाकरण प्रतिवेदन सदनमा पेश हुन ढिलाइ

दृष्टिकाेण समाचार दार्चुला भदौ २२ । प्रदेश नम्बर ७ को स्थायी राजधानी तोक्न र नामाकरणका लागि तयार भएको सुझावसहितको प्रतिवेदन सदनमा पेश हुन ढिलाइ भएको छ ।सुझाव संकलनका लागि गठित पाँच सदस्यीय विशेष समितिले भदौ ५ गते नै सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाए पनि संसदमा अझैसम्म पेश हुन सकेको छैन । सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित विशेष समितिले सभामुखलाई प्रतिवेदन बुझाएको १७ दिन भइसकेको छ ।उक्त प्रतिवेदन सभामुखको निजी सचिवालयमा रहेको प्रदेश नम्बर ७ संसद सचिवालयले जानकारी दिएको छ । प्रतिवेदन सचिवालयमा दर्ता भए पनि सदनमा पेश हुनेबारे सचिवालयलाई कुनै पनि जानकारी नरहेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।अब प्रतिवेदन सदनमा आउनका लागि सभामुखको हातमा भएको बताउँदै सचिव शर्माले सचिवालयलाई हस्तान्तरण गर्नेबित्तिकै कार्यसूचीमा चढाउने प्रष्ट पारे । सभामुखकै अध्यक्षतामा बनेको कार्यव्यवस्था परामर्श समितिमा छलफल भएपछि प्रतिवेदन पेश हुन सक्ने जनाइएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा राजनीतिक सहमतिका लागि आफ्नो प्रयास जारी रहेकाले प्रतिवेदन रोकेको सभामुख अर्जुनबहादुर थापाले बताए । राजनीतिक सहमतिको लागि आफ्नो प्रयास जारी रहेको बताउँदै उनले प्रयास सकारात्मक रहेकाले सहमति हुनेमा विश्वस्त रहेको जनाए । सभामुख थापाले राजनीतिक समहमति जुटाउने जिम्मा केही नेता र साथीहरुलाई जिम्मा दिएको बताए ।सुझाव संकलनका लागि गठित विशेष समितिले पटक–पटक म्याद थपपछि मात्रै प्रदेशका विभिन्न सरोकारवालाबाट सुझाव लिएर सभामुखलाई प्रतिवेदन बुझाएको थियो । ढिलो गरी सभामुख समक्ष आएको प्रतिवेदन सदनमा पेश गर्न ढिलाइ गर्न नहुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ठहर छ । बहुमतको सत्ता भए पनि सरकारले जेसुकै कार्यमा ढिलाइ गरिरहेको आरोप प्रतिपक्ष दलका नेताले आरोप लगाएका छन् ।