कञ्चनपुरमा महिलाको शंकास्पद मृत्यु, धामी झाँक्रीसहित ७ जना पक्राउ

२ बर्ष अघि

२0७९ बैशाख ३ शनिबार

कञ्चनपुरमा महिलाको शंकास्पद मृत्यु, धामी झाँक्रीसहित ७ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चक्रबहादुर शाहले उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जानकारी दिए ।

‘हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आगनबाट मृतकको शव बरामद गरेका छौँ,’ शाहले अनलाइनखबरसँग भने, ‘घटना शंकास्पद भएकाले ७ जना मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामी झाक्रीसहित ७ जना स्थानीय रहेका छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ बस्ने धामीझाक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुसँगै साउदका परिवारका सदस्यहरु समेत पक्राउ परेका हुुन् । तर प्रहरीले उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन ।

‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा उहाँहरुलाई पक्राउ गरिएको हो,’ डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र बाँकी कुरा थाहा हुन्छ ।’

महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।

घटना स्थलमा पुगेका वेदकोट नगरपालिका–६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

‘स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृत्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घटनास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका ७ वटा डन्डी भेटिएका छन् । शव सडेको अवस्थामा छ । घटनाको वास्तविकता अनुसन्धानपछि खुुल्छ होला ।’ अनलाईन खबर बाट