रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

२ बर्ष अघि

२0७९ बैशाख २ शुक्रबार

रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

एजेन्सी । रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ । तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ। सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।