जनकपुरधाम । भगवान् रामको जन्मदिनको स्मरणमा आइतबार जनकपुरधाममा धार्मिक मेला लागेको छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरलगायत मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।
रामनवमीको अवसरमा जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ । भारतको उडिसास्थित शंकराचार्यपीठका पिठाधिश शङ्कराचार्य निश्चलानन्द सरस्वतीले प्रवचनमा बोल्दै नेपालका राजनीतिज्ञहरुलाई चेताएका थिए ।
शंकराचार्यले भने, ‘ओलीजी, प्रचण्डजी सावधान आफ्नो पूर्वजको विषयमा ज्ञान राख्नुस् । मृत्युपछि धर्मले नै साथ दिन्छ वितण्डवादले तपाईलाई साथ दिँदैन ।’ रामनवमी पर्वको अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्र नै रहेकोले कुनै नेताको प्रतिक्षा गर्नुपर्ने आवश्यक्ता नरहेकोसमेत बताए ।
‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दू राष्ट्र कायम हुनु आवश्यक भएको बताउँदै उनले भने, ‘‘मलाई कुनै नेताको आवश्यकता छैन । नेपाल हिन्दू राष्ट्र हो र रहिरहन्छ । म घोषणा गर्छु ।’
‘नेपाल–भारतको सांस्कृतिक धरातल एउटै छ, खासगरी दुई देश बीचको भाग अर्थात् मिथिलाञ्चल क्षेत्र तर चीनको षडयन्त्रमा नेपाल नफसोस्’, गोवर्धनमठ पुरीका पीठाधीश्वर जगतगुरु शंकराचार्य स्वामी निश्चलानंद सरस्वती महाराजले बताए ।
सरस्वती महाराजले भने, ‘नेपाल र भारतको सांस्कृतिक धरातलमा एकरुपता रहे पनि पछिल्लो समय नेपाल चीनको षडयन्त्रमा फस्न लागेकाले त्यसतर्फ सावधान हुनु आवश्यक छ ।’ शंकराचार्यले नेपाल र भारत दुवै देशले आफूलाई हिन्दू राष्ट्र कायम गर्यो भने एक वर्ष भित्रै विश्वका १५ वटा देशले आफूलाई हिन्दूराष्ट्र कायम गर्ने दाबीसमेत गरे ।
यसैगरी जनकपुरधामको राम मन्दिरमा ठूलो सङ्ख्यामा साधुसन्तहरु आएर धुनी जगाएका छन् । गुठी संस्थाले साधुहरूको भोजन तथा दक्षिणाको प्रबन्धसमेत गरेको छ । त्रेता युगमा यसै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम भगवान् राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्रको रुपमा जन्म भएको पौराणिक ग्रन्थ रामायणमा उल्लेख छ ।