नेपाल र भारतमा कृषि सामग्री, रासायनिक मलको आपूर्ति र अनुदानको अवस्थाको बारे छलफल

२ बर्ष अघि

२0७८ चैत्र २८ सोमबार

नेपाल र भारतमा कृषि सामग्री, रासायनिक मलको आपूर्ति र अनुदानको अवस्थाको बारे छलफल

रौतहट । साल्ट कर्पोरेशन लिमिटेड र भारतको इण्डियन पोटास लिमिटेड आइपिएल ले नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको विषयमा संयुक्त राष्ट्रिय गोष्ठीको आयोजना गरेका छन् । नेपाल र भारतमा कृषि सामग्री खासगरी रासायनिक मलको आपूर्ति र अनुदानको अवस्थाको बारेमा छलफल गर्नका लागि यो गोष्ठीको आयोजना गरेको साल्ट कर्पोरेशन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा नेपाल, भारतलगायत विश्वभर रासायनिक मलको अवस्था के छ, भारतमा मलमा अनुदान कसरी दिएको छ, नेपालमा माटोको अवस्था के छ, प्रदेशस्तरमा कृषिको माग र आपूर्तिको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा छलफल हुने उनले बताए ।

गोष्ठीको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द शर्माले रासायनिक मलमा नेपाल परनिर्भर रहेको भन्दै हालसम्म आयात गरेर नै किसानको माग पुरा गरिरहेको बताए । नेपालले भारतलगायत अन्य मुलुकबाट टेण्डर तथा जीटुजीको माध्यमबाट नेपाल आयात गरी किसान समक्ष पुर्याउने गरेको उनले उल्लेख गरे ।

उनले नेपाली किसानलाई समयमा मल उपलब्ध गराउनका लागि सरकारले विभिन्न नीति निर्माणदेखि लिएर अन्य विषयमा पहल गरिरहेको बताए ।

सोही मन्त्रालयका पशुपन्छीतर्फका सचिव निरु दाहालले माटो परीक्षण गरी मल कम प्रयोग गर्ने किसान कम देखिएको बताइन् । माटोको सुहाउँदा गुण अनुसार मल प्रयोग गरे उत्पादनदेखि हरेक क्षेत्रमा फाइदा हुने उनको भनाइ छ ।