जनप्रतिनिधिहरुको सरकारी सवारी फिर्ता

२ बर्ष अघि

२0७८ चैत्र २६ शनिबार

जनप्रतिनिधिहरुको सरकारी सवारी फिर्ता

काठमाडौ। रौतहट जिल्लाको गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएका सरकारी नम्बर प्लेट भएको सवारीसाधनहरु सामूहिक रुपमा नगरपालिकाको जिम्मा लगाएका छन् । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त सवारी साधनहरु नगरपालिकालाइ फिर्ता गरेका हुन् । आउँदो २०७९ साल बैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोग नेपालले निर्वाचन अचार सहिंता लागु गर्ने पूर्ण तयारी गरि सकेकोले नैतिक रुपमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने भएकोले सवारी साधन फिर्ता गरिएको मेयर गुप्ताले बताए । उनले राजीनामा नदिए सम्म नगरवासीको कार्य गर्दै जाने समेत बताए । मेयर गुप्ताले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको स्कार्पियो र ९ वटै वडा अध्यक्षले प्रयोग गर्दै आएको पल्सर मोटर साइकलको साँचो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरलाई जिम्मा लगाईएको हो । निर्वाचन आचार संहिता लागु भए संगै सरकारी गाडी प्रयोग गर्न नपाइने भएकोले आचार सहिंता लागु हुनु पूर्व गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले बुझेका सवारी साधन फिर्ता गरेर अन्य नगरपालिकाका प्रमुख , उपप्रमुख र वडा अध्यक्षहरुलाई सवारी साधन हस्तानान्तरण गर्न दवाव सृजना गरेका हुन् । १८ स्थानीय तह रहेका रौतहट जिल्लामा सवै भन्दा पहिला सरकारी गाडी फिर्ता गर्ने मध्येमा गौर नगरपालिका पहिलो स्थानीय तह बनेको छ ।