दार्चुला जिल्लामा स्वास्थ्य सेवाको चिरफार, यस्तो छ अवस्था 

६ बर्ष अघि

२0७५ भाद्र १५ शुक्रबार

दार्चुला जिल्लामा स्वास्थ्य सेवाको चिरफार, यस्तो छ अवस्था 

सुलोचना महता, भाद्र १५ दार्चुला । नेपाल सरकारले स्वास्थ्य सेवालाई निःशुल्क गरेको छ । नागरिकको सामान्य देखि अवस्था हेरी जटिल किसिमको स्वास्थ्य सेवामा सहुलियत दिँदै आएको छ । यसै अन्तरगत दार्चुला जिल्लामा गत आर्थिक वर्ष २०७४÷०७५ मा  जिल्ला भरीमा स्वास्थ्य सेवाको तथ्याङ्क यस्तो रहेको छ । 
सेवा प्रवाह 
गत आर्थिक बर्षमा दार्चुला जिल्ला भरीमा १ लाख ५३ हजार १ सय ६२ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् भने जिल्ला १ सय ७२ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हाल दार्चुला जिल्लामा २ वटा अस्पताल रहेका छन् भने ४० वटा स्वास्थ्य केन्द्रहरु रहेका छन् ।
स्वास्थ्य चौकी अन्तरगत प्रत्येक महिना गाउँघर क्लिनिकबाट पनि स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । दार्चुलामा स्वास्थ्य चौकी अन्र्तगत १ हजार ७ सय ३० वटा गाउँघर क्लिनिकहरुबाट गत बर्ष ३२ हजार ५ सय ६२ जनाले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ्क सहायक खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाभरी १ हजार ५ सय ४३ वटा खोप क्लिनिकहरु रहेका छन् । खोप क्लिनिकबाट  २० हजार ६ सय २४ जनाले सेवा लिएका छन् भने महिला स्वयं सेविकाहरुबाट ७३ हजार ९ सय ९१ जनाले स्वास्थ्य सेवा लिएका छन् । यस बाहेक जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट गत बर्ष २५ हजार ९ सय ८५ जनाले विभिन्न किसिमका स्वास्थ्य सेवा गरी जिल्ला भरीमा डढेलाख बढीले स्वास्थ्य सेवा लिएको जिल्ला अस्पताल दार्चुलाको तथ्याङ्क छ । 
गत आर्थिक वर्षमा सबैभन्दा बढी टाउँको दुख्ने सेवाग्राहीहरु १० हजार ३ जना, ग्यास्ट्रीकका ९ हजार ९ सय १४ जना र श्वास प्रश्वास सम्बन्धीका ८ हजार ६ सय ३६ जना रहेका छन् । यस बाहेक अन्य विभिन्न स्वास्थ्य समस्याका विरामीहरुले सेवा लिएको तथ्याङ्क सहायक कार्कीको भनाई छ । 
पूर्ण खोपयुक्त जिल्ला घोषणा
दार्चुला जिल्लामा खोप लगाउने सबै बालबालिकाहरुले खोपको सबै मात्रा पाईसके पछि जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । 
गत आर्थिक वर्षमा एक वर्ष भन्दा मुनिका ३ हजार ७५ बालबालिकालाई खोप लगाउने लक्ष्य रहकोमा बि.सी.जी खोप लगाउने ८० दशमलब ६१ प्रतिशत, डि.पी.टी खोप लगाउने ७७ दशमलब ८५ प्रतिशत, ओ.पी.भी.थ्रि खोप लगाउने ७८ दशमलब १७ प्रतिशत रहेका छन् । त्यस्तै दादुराको खोप लगाउने ८३ दशमलब ३४ पतिशत, टि.टि. खोप (गर्भवति महिला) लगाउने ७६ दशमलब २३ प्रतिशत  रहेका छन् । 
बि.सी.जी खोप लगाउने भन्दा दादुरा खोप लगाउनेको संख्या ३ दशमलब ३८ प्रतिशतले वृद्धी भएको छ भने डि.पी.टी खोप पहिलो चरणमा लगाउने भन्दा तेस्रो चरणमा लगाउनेको संख्या ४ दशमलब ६९ प्रतिशतले कमी रहेको छ ।
पोषणमा बृद्धि
आर्थिक वर्ष २०७३÷०७४ मा बालबालिको तौल वृद्धी गर्ने कार्यक्रम अनुसार २ दशमलब ३ प्रतिशत बालबालिका पोषणको जोखिममा रहेकोमा गत आर्थिक वर्ष २०७४÷०७५ मा बालबालिकाको तौलमा वृद्धी भएको छ । गत आर्थिक वर्षमा जन्मे देखि दुई वर्ष सम्मका बालबालिकाहरु ६ हजार ८५ जनामध्ये ९३ दशमलब ४४ प्रतिशत बालबालिकाको अनुगमन गर्दा १ दशमलब ६ प्रतिशत बालबालिका मात्रै पोषणको जोखिममा रहेका छन् । आमाको चेतनामा वृद्धी हुनु र स्वास्थ्य कार्यक्रमको प्रभावकारिताका कारण बालबालिकाको तौलमा वृद्धी भएको तथ्याङ्क सहायक कार्कीको भनाई  छ ।
एक दर्जन नवजात शिशुको मृत्यु
गत आर्थिक वर्ष २०७४÷०७५ मा १२ वटा नवजात शिशुको चार हप्ता भित्र मृत्यु भएको छ भने मातृ मृत्युदर शुन्य रहेको छ । जिल्ला भरीमा ३ हजार १ सय ७७ गर्भवती महिलाहरु रहेकोमा पहिलो पटक गर्भवती जाँच गराउनेको संख्या ७७ दशमलब ०९ प्रतिशत रहेकोमा ५९ दशमलब ३८ प्रतिशतले मात्रै चार पटक गर्भ जाँच गरेका छन् । यी गर्भवती महिला मध्ये ६२ दशमलब ६९ प्रतिशतले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट, ६२ जनाले स्वास्थ्य संस्थाबाट र ३१ बर्थीङ सेन्टरमा बच्चा जन्माएका छन् । 
१९ सय महिलाले पाए सुत्केरी भत्ता 
गत बर्ष जिल्ला भरीमा १ हजार ९ सय ३८ जना सुत्केरी महिलाहरुले  सुत्केरी भत्ता पाएका छन् । १५ सय रुपैँयाका दरले २९ लाख ७ हजार रुपैँया यातायात खर्च वाफत वितरण गरिएको छ भने गर्भवती उत्पे्रणा वाफत जिल्ला भरीका १ हजार १ सय ९० जना सुत्केरी महिलाहरुले ४ सय रुपैँयाका दरले ४ लाख ७६ हजार रुपैँया पाएका छन् । 
चालु आर्थिक वर्ष देखि हिमाली जिल्लामा रहेका सुत्केरी महिलाहरुले सुत्केरी भत्ता दोब्बर पाउने भएका छन् । 
गर्भपतन गराउनेको संख्यामा बृद्धी
जिल्ला स्वास्थ्य कार्यालय अन्तरगत नै सुरक्षित गर्भपतन सेवा पनि उपलब्ध छ । आर्थिक बर्ष २०७३÷७४ भन्दा ०७४÷७५ मा ५० जना बढीले गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा गर्भपतन गराउनेको संख्या २ सय ५० जना रहेकोमा गत आर्थिक वर्ष २०७४÷०७५ मा गर्भपतन गराउनेको संख्या वृद्धी भएर ३ सय जना पुगेको जिल्ला अस्पतालको तथ्याङ्क छ । 
गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिकोणले उचित नभएपनि महिलाहरुले गर्भपतन गराइ रहेका छन् । झन पछिल्लो समय उमेर नपुगेरै बच्चा जन्माउने आमाहरुको संख्या पनि बढ्दो क्रममा रहेको पाइएको छ । 
२० नपुगी विवाह गर्नु नै कानुन विपरित भइरहेका बेला दार्चुलामा गत आर्थिक बर्षमा २० जना महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङक सहायक खगेन्द्र कार्कीले बताउनु भयो ।