दार्चुलाको दुर्गम गाउँपालिकामा बजार अनुगमन

२ बर्ष अघि

२0७८ चैत्र २१ सोमबार

दार्चुलाको दुर्गम गाउँपालिकामा बजार अनुगमन

दार्चुला ।  सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गरेकी छन्। उनी नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको दुर्गम अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे बताइएको छ ।

उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले सारथी खबरलाई जानकारी दिनु भएको छ । अनुगमनका क्रममा म्याद नाघेका  मिठाई, गुँद पाप्पड, जुस, सुपारी,  सुजी  मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको बताइएको छ ।  दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि  म्याद नहेरी सामान  खरिद बिक्री गर्ने हुँदा नष्ट गर्नु परेको उनले बताइन्।

यसअघि बजार अनुगमन सदरमुकाम खलङ्गा केन्द्रित मात्रै हुने गरेको थियो। नयाँ वर्षको बेला गाउँमा झन् अखाद्य वस्तु ढुवानी हुने हुँदा अपी हिमाल पुगेको बेला बजार अनुगमन गरिएको सहायक प्रजिअ साउदले बताइन्। सदरमुकाम खलङ्गाबाट एक दिन लगाएर उक्त गाउँपालिका पुगिन्छ। अहिले पनि गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । सडक नहुँदा तीन÷चार घण्टा लगाएर स्थानीयवासीले पिठ्यूँमा समान ढुवानी गरेर लैजान्छन्। बजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत गङ्गाकुमारी मगर, तेजराम महरा, नरेन्द्रसिंह महरा, जनप्रतिनिधि शान्ति धामी लगायको सहभागिता रहेको थियो ।हिजो शनिबार पनि जिल्लाको लटिनाथ बजारमा अनुगमन गरिएको बताइएको छ भने आज आइतबार जिल्ला दोस्रो ठुलो बजार गोकुलेश्वर बजारमा पनि अनुगमन गरिएको बताइएको छ ।

आइतबार प्रशासनबाट कर्मचारी खटाएर गोकुलेश्वर बजारमा अनुगमन गरिएको छ । बजार अनुगमन तथा घुम्ती नागरिकता शिविर सञ्चालनका लागि पहिलो पटक अपी हिमाल पुगेको सहायक प्रजिअ हेमन्ती साउँद नेतृत्वको टोलीलाई अपी हिमाल गाउँपालिकाले स्वागत गरेको छ। महिला सहायक सिडियोका रुपमा दार्चुला पुग्नुभएका साउद पहिलोपटक उक्त गाउँपालिका पुगेकी हुन्। उनको टोलीलाई गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले स्वागत गरे। नागरिकता घुम्ती शिविर गाउँपालिकामा सञ्चालन भइरहेको छ ।