देउवा र मोदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेल सेवाको उद्घाटन

२ बर्ष अघि

२0७८ चैत्र १९ शनिबार

देउवा र मोदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेल सेवाको उद्घाटन

काठमाण्डौ । जनकपुर–जयनगर रेलको उद्घाटन भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाको उद्घाटन गर्नुभएको हो । भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन भएको हो ।

आज उद्घाटन भएसँगै अब भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले छ । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गएको फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो ।

तीनदिने भारत भ्रमणमा हिजो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवाले ओहदा बिर्सिएर भाजपा मुख्यालय गएको भन्दै आलोचना भैरहेको छ । नयाँदिल्ली पुगेलगत्तै देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको हो । हिजो नै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार गर्नुभयो । भ्रमणमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव लगायत छन् । 

हिजो नेपाली राजदूतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभएको थियो ।