दार्चुलाका १ सय २२ क्षेत्रमा कृषि गणना हुने

२ बर्ष अघि

२0७८ चैत्र १९ शनिबार

दार्चुलाका १ सय २२ क्षेत्रमा कृषि गणना हुने

दार्चुला । दार्चुलामा सातौँ राष्ट्रिय कृषि गणना अन्तर्गत १ सय २२ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा नौ स्थानीय तहका ६१ वटै वडामा कृषि गणना गरिने छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख शंकर दत्त भट्टका अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १८ स्थानमा कृषि गणना गरिने भएको छ।

सबै भन्दा कम अपि हिमाल गाउँपालिकामा ८ वटा क्षेत्रमा कृषि गणना हुने कार्यालय प्रमुख भट्टले जानकारी दिनु भएको छ । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ। गणनाका लागि १३ सुपरीवेक्षक र ५० गणक खटाइने भएको छ।

यही चैत २४ गतेसम्म करारमा नियुक्त गरी चैत २५ गतेदेखि उनीहरुलाई तालिम दिइने कार्यालय प्रमुख भट्टले जानकारी दिए। तालिमपश्चात् आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म गणना गरिने छ। 

गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ। यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन्।

कृषिमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्दतिको प्रयोग, माटो परीक्षण, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ। चैत १ गते जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको थियो ।