ओली वाङबीच के के कुरा भयो

२ बर्ष अघि

२0७८ चैत्र १३ आईतवार

ओली वाङबीच के के कुरा भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच मेरियट होटलमा भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर कुराकानी भएको छ । वाङलाई भेट्न ओली पार्टीका वरिष्ठ नेतासहित होटल मेरियट पुगेका थिए । उनको साथमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख डा। राजन भट्टराई सहभागी थिए ।

भेटमा नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुदृढीकरण, नेपालको विकसित राजनीतिक घटनाक्रम, कम्युनिस्ट पार्टीहरुबीचको पछिल्लो विवादका विषयमा समेत वाङले चासो राखेको बुझिएको छ । वाङले वामपन्थी शक्तिबीच एकतामा जोड दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

ओलीले बीआरआईसम्बन्धी विकास परियोजनाहरु अगाडि बढाउन आग्रह गरेको बुझिएको छ । उनले चीनले नेपालसँग ठप्प पारेको नाका खुलाउन पनि आग्रह गरेका छन् । बीआरआई परियोजनामा ओलीको चाहनाका कतिपय योजनाहरु पनि परेका छन् । चीनले नाका ठप्प पार्दा नेपालमा चीनप्रतिको धारणा नकारात्मक बन्दै गएको छ । यसतर्फ ओलीले गम्भीर बन्न भनेको स्रोतले बतायो ।

ओलीलाई भेटेपछि वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । ओली र प्रचण्डलाई वाङले एउटै होटलमा छुट्टाछुट्टै भेटेर महत्वपूर्ण सन्देश दिएका छन् ।