लोप हुँदै परम्परागत काम गर्ने मेसिनहरु (फोटो कथा)

६ बर्ष अघि

२0७५ भाद्र १४ बिहीबार

लोप हुँदै परम्परागत काम गर्ने मेसिनहरु (फोटो कथा)

कृष्ण धामी, भाद्र १४ दार्चुला । आधुनिक समाजमा काम गर्ने विभिन्न प्रविधि भित्रीएका छन् । मानिसले कार्यबोझ कम गर्नका लागि विभिन्न काम गर्ने मेसिनहरुको विकास गरी प्रयोगमा ल्याएका हुन् । धान कुट्ने, तोरी पेल्ने, गहुँ मकै पिस्ने लगायतका विभिन्न आधुनिक मेसिनहरु भित्रीएसँगै सुदुरपश्चिम क्षेत्रमा परम्परागत रुपमा प्रचलनमा रहेका विभिन्न काम गर्ने प्रविधिहरु लोप हुँदै गइरहेका छन् । 
धान कुट्ने ‘ओखल’


सुदुरपश्चिमका सबै जसो क्षेत्रमा अझै पनि परम्परागत रुपमा धान कुट्नका लागि ढुङ्गामा खोल्टो पारेर काठको डण्डीले धान कुट्ने परम्परा छ । ढुङ्गामा खोपेको लाई ओखल र काठको डण्डीलाई डोटेली भाषामा मुसल भनिन्छ । यस बाहेक काठबाट बनेको खुट्टाले चल्ने ढिक्की पनि धान कुटेर चामल बनाउन प्रयोग गरिन्छ । 
पछिल्लो समय ओखलको प्रयोग कम हुँदै गईरहेको छ । परम्परागत रुपमा पुर्खाहरुले काम गर्नका लागि स्थानीय स्तरमै यस्तो प्रविधिको विकास गरेका थिए । यो प्रत्येक व्यक्तिले घर घरमा बनाएका हुन्छन् ।
कोलु


तोरी, सरसीउँ, चिउरी लगायतका तेलहन बालीबाट तेल निकाल्नका लागि परम्परागत काठको मेसिन पनि यस क्षेत्रमा प्रयोगमा रहेको छ । तेलहन बालीबाट खानेतेल उत्पादनका गर्नका लागि प्रयोगमा ल्याईने यो मेसिनलाई कोलु भनिन्छ । प्रत्येक टोलमा एउटा एउटा कोलु स्थापना गरी सिजन अनुसार यसको प्रयोग गरिन्छ । दुई जनाले यसको प्रयोग गर्छन् । नयाँ प्रविधिको विकाससँगै यस क्षेत्रका कोलु पनि विस्थापित भईरहेका छन् ।
पानी घट्ट÷ जाँतो


अन्न बाली पीधेर पीठो पार्नका लागि प्रयोगमा रहेको अर्को प्रविधि पानी घट्ट अर्थात जाँतो हो । पानीद्वारा चल्ने घट्ट र हातले चल्ने जाँतो पनि सुदुरपश्चिम क्षेत्रको परम्परागत काम गर्ने प्रविधि हो । यसले पनि अन्नबालीहरु मकै, गहुँ, जौ, दालहरु लगायत पीधेर पीठो पारीन्छ । घट्ट पानीको उपलब्धता अनुसार तथा जाँतो प्रत्येकको घरघरमा राखिएको हून्छ । 
समयको परिवर्तन, प्रविधिको विकास र मानवको काम गर्ने शैली परिवर्तन भएसँगै परम्परागत रुपमा काम गर्नका लागि बनाइएका यस्ता प्रविधिहरुको प्रयोग कम हुन थालेपछि यसको लोप हुँदै गएको हो । 
काममा सहजता ल्याउन पुर्खौली पीढिँले बनाएका यस्ता प्रविधिहरुको आधुनिकिकरण गरी अझै कम लागत र सर्वसुलभताका आधारमा यीन प्रविधिको विकास र विस्तार गर्न सकेमा मानिसले गर्ने काममा सहजता आउने जानकारहरु बताउँछन् ।