धोकेबाज कम्युनिस्ट र मधेसवादी दललाई उठ्नै नसक्नेगरी पछार्ने यस्तो छ मधेस काँग्रेसको रणनिती

२ बर्ष अघि

२0७८ चैत्र ७ सोमबार

धोकेबाज कम्युनिस्ट र मधेसवादी दललाई उठ्नै नसक्नेगरी पछार्ने यस्तो छ मधेस काँग्रेसको रणनिती

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशले आसन्न निर्वाचनमा धोकेबाज पार्टीलाई सबक सिकाउने भएको छ । सत्तामा गएर पटक पटक मधेसी जनतालाई धोका दिने, झुक्याएर आफ्नो दुनो सोझ्याउने कम्युनिस्ट र मधेस केन्द्रीत दलहरुलाई कांग्रेसले मधेसबाट डाँडा कटाउने रणनीति बनाएको हो ।

नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले एजेण्डाविहीन कम्युनिस्ट र मधेसवादी पार्टीलाई मधेस प्रदेशमा उठ्नै नसकिने गरी पछार्ने उदघोष गरे । मधेस प्रदेशका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्रीसमेत रहेका सिंहले मधेस र मधेसी जनतालाई सत्ताको भर्याङ बनाउने र कुनै काम नगर्ने मधेस केन्द्रीत दलहरु र कम्युनिस्टहरुलाई मधेसमा निल बनाउनेगरी जनतामाझ जागरण कांग्रेसले ल्याएको बताए ।

‘प्रदेशका हरेक स्थानीय तह, गाउँपालिका, नगरपालिका, प्रदेश सभा र प्रतिनिधि सभामा जित्ने हिसाबले रणनीति बनाउन प्रदेशका पार्टीका कार्यकर्ताहरु लागिसकेका छन्,’ उनले भने । प्रदेश उपसभापति सिंहले विगतमा मधेसवादी र कम्युनिस्टहरुले मधेसलाई धोखा दिएको, विकास निर्माण कार्यमा सहयोग नगरेको र युवाहरुको लागि रोजगारीको अवस्था सिर्जना नगरेको भन्दै तराईवासीमा आक्रोश रहेको जानकारी गराए ।

‘जनताको बीचमा गएर भोट माग्न सक्ने कुनै पनि एजेण्डा कम्युनिस्ट र मधेसवादीसँग छैन । त्यसैले झुकिएर पनि प्रदेशका जनताले कम्युनिस्ट र मधेसवादीलाई भोट दिँदैन्,’ उनले भने । कम्युनिस्टले जनताको मनमा बनाएको घाउमा अब कांग्रेस मलह्म लाउने उनले प्रतिबद्धता जनाए ।

यसैक्रममा ‘घर घर जाऔँ, काँग्रेस जिताऔ’ अभियानअन्तर्गत प्रदेशका एक एक नेताकार्यकर्ता जनताको बीचमा गएको बताए । साथै पार्टीका राम्रा विषयहरु बताउँदै कम्युनिस्टहरुले फैलाएको भ्रमको यथार्थ जनतालाई बुझाउन थालेको उनले जानकारी दिए ।