एमसीसी अस्वीकार गर्दा टाट पल्टियो श्रीलंका, कागज किन्ने डलर नहुँदा लाखौं विद्यार्थीले परीक्षा दिन पाएनन्

२ बर्ष अघि

२0७८ चैत्र ७ सोमबार

एमसीसी अस्वीकार गर्दा टाट पल्टियो श्रीलंका, कागज किन्ने डलर नहुँदा लाखौं विद्यार्थीले परीक्षा दिन पाएनन्

काठमाडौं । श्रीलंकामा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि राष्ट्रिय परीक्षा स्थगित भएको छ । विदेशी मुद्रा सञ्चितिको अभाव भएपछि श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट शुरु हुने भनिएको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न सकेको छैन । श्रीलंकाको अर्थतन्त्र धरासायी बन्दै गएको छ ।

श्रीलंका सन् १९४८ मा स्वतन्त्रत भएपछि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिएको छ । श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव छ । पश्चिमाञ्चल प्रदेशको शिक्षा विभागले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्राको अभाव रहेको जनाएको छ ।

प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन अस्वीकार गरेको विभागले जनाएको छ । यसपालि प्रश्नपत्र छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिइ अर्को कक्षामा बढुवा गर्ने तयारी भएको छ ।

अत्यावश्यक बस्तु आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ । सरकारले दूधको धुलो, चिनी, दाल र चामललगायत रासनको व्यवस्था गरेपछि किराना पसलमा लामो लाइन लागेको छ । श्रीलंकाको आर्थिक अवस्था बिग्रनुमा चीनको हस्तक्षेपलाई श्रीलंकाका जनताले आरोप लगाउन थालेका छन् ।

श्रीलंकाले ठूलो रकम चीनसँग महँगो व्याजमा लिएको छ । चीनले श्रीलंकालाई आफ्नो नियन्त्रणमा राखेका कारण विदेशी मुलुकहरूले सहायता दिन सकेका छैनन् । चीनको दवावमा श्रीलंकाले अमेरिकन सहयोग एमसीसी अस्वीकार गरेको थियो ।

त्यसपछि श्रीलंकाको दुरदशाको अवस्था आएको छ । चीनले महँगो व्याजमा दिएको ऋण श्रीलंकाले तिर्न नसक्दा एउटा बन्दरगाहलाई चीनले ९९ सय वर्षका लागि कब्जा नै गरिदिएको छ । चीनको उक्साहटमा श्रीलंकाले अमेरिका, भारत जस्ता देशहरूसँगको सम्बन्धमा दुरी बढाएको छ । चीनको पछि लाग्दाको फल श्रीलंकाले भोग्नुपरेको छ ।