भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

२ बर्ष अघि

२0७८ चैत्र ६ आईतवार

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौ । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री कार्यालयको ट्वीटर हेण्डलमा लेखिएको छ, ‘प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवार्ता दुई देशको मित्रता बढाउन फलदायी भएको छ ।’

युक्रेनमाथि रूसले आक्रमण गरेपछि पहिलो पटक भएको उनीहरूको भेटवार्ताका क्रममा युक्रेन सङ्कटको बारेमा समेत कुराकानी भएको अनुमान गरिए पनि यस बारेमा केही बताइएको छैन ।

पश्चिमी देशले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशले यसमाथि नजिकबाट नजर राखिरहेका छन् । यसहीबेला किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्वका रूपमा हेरिएको छ ।

यसैबीच मोदी र किशिदाबीच चीनसँग सम्बन्धित विषयमा पनि वार्ता भएको छ । मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन् । उनले चीन र भारतबीचको सीमा  विवादबारे जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।