संसद अधिवेशन अन्त्य भए पनि रोकिएनन् गृहमन्त्री खाण, नागरिकता विधेयक निष्कर्षमा पुर्याएरै छाड्ने अठोट

२ बर्ष अघि

२0७८ चैत्र ६ आईतवार

संसद अधिवेशन अन्त्य भए पनि रोकिएनन् गृहमन्त्री खाण, नागरिकता विधेयक निष्कर्षमा पुर्याएरै छाड्ने अठोट

काठमाडौं । संघीय संसदको अधिवेशन अन्त्य भइसकेको छ । नागरिकतालगायत थुप्रै विधेयक नेकपा एमालेको अवरोधका बीच अलपत्र परेका छन् ।

अधिवेशन अन्त्य हुँदा संसदका कामकारवाही ठप्प हुने भए पनि नागरिकता विधेयक अगाडि बढाउन कम्मर कसेका गृहमन्त्री बालकृष्ण खाण रोकिएका छैनन् ।

अधिवेशन अन्त्य भए पनि नागरिकता विधेयकमा सहमति जुटाउन छलफललाई तीव्रता दिएका छन् । बर्खे अधिवेशन आह्वान हुने वित्तिकै नागरिकता विधेयक पारित गरेर ऐन कार्यान्वयन गर्ने र नागरिकताबाट वञ्चित हजारौं नागरिकलाई नागरिकता दिने मिसनमा गृहमन्त्री खाण अघि बढेका छन् ।

नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा खाणले शुक्रबार सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल गरेका छन् ।

खाणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच भएको सहमतिलाई केरकसरी कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भएको हो । सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा दलीय सहमति जुटाउन निरन्तर वार्ता र छलफल गर्दै आएको छ ।

नागरिकताको प्रमाणपत्र नपाएर कयौं विद्यार्थी तथा युवा युवती राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित भएका छन । नागरिकता नपाएकै कारण उनीहरुले शिक्षा र रोजगारी प्राप्तिमा विभिन्न समस्या झेल्दै आएका छन् ।

सरकारले त्यस्ता नागरिकको आवाजलाई सम्बोधन गर्न सकिन्छ भनी विभिन्न कोणबाट छलफल र पहल गरिरहेको छ ।छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्याधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण अर्याललगायत सहभागी थिए ।