भारतीय सहयोगमा भोजपुरमा अस्पताल बन्दै

२ बर्ष अघि

२0७८ चैत्र ५ शनिबार

भारतीय सहयोगमा भोजपुरमा अस्पताल बन्दै

एजेन्सी । भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरस्थित षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अस्पताल भवन बिहीबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा, दूतावासका अन्य अधिकारी र स्थानीय सरकारका पदाधिकारी सहभागी थिए । अस्पताल भवनका लागि भारत सरकारले दुई करोड २६ लाख रुपैयाँ सहयोग गरेको थियो । ‘भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो,’ भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ, ‘यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्नेछ ।’

अस्पताल १५ शय्या क्षमताको छ । यसमा प्रसूति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतीक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकमा लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।

भारतले २०६० सालपछि नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको दूतावासले जनाएको छ । यीमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन्। भोजपुरका ४ परियोजना अघि बढेका छन् भने भारत सरकारले भोजपुरका लागि तीनवटा एम्बुलेन्स दिइसकेको छ । प्रदेश १ मा भारतीय सहयोगका ७८ परियोजना रहेका छन् ।

सञ्चारमन्त्री कार्कीले सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे । भारतीय उपनियोग प्रमुख खम्पाले अस्पताल भवन परियोजनालाई दुई देशबीचको बहुपक्षीय तथा बलियो विकास साझेदारीको प्रमाण भनेकी छिन् ।