धौलीगंगा बाँध बिहीबार बाँध पुनः खोलिने

६ बर्ष अघि

२0७५ भाद्र १३ बुधबार

धौलीगंगा बाँध बिहीबार बाँध पुनः खोलिने

दृष्टिकोण समाचार भाद्र  १३  दार्चुला    भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बिहीबार बाँध पुनः खोलिने भएको छ ।बिहीबार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म बाँध खोलिने भएको हो । यस वर्षमात्रै धौलीगंगा जलविद्युत परियोजनाको बाँध पाँचौं पटक खोलिन लागिएको हो । परियोजनाले बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गरेको जानकारी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । परियोजनाले बाँध खोलिने भनेर पूर्व जानकारी गराएको छ । दार्चुलाको दत्तुमा बुधबार बिहान ८ बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४.७० मिटर क्युसेक रहेको छ । ५.५ मिटर क्युसेक बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ । बाधँको पानी खोलिँदा महाकाली नदीतटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।२८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बांैको क्षती भएको थियो ।