भारत सरकारको आर्थिक सहयोगमा महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

२ बर्ष अघि

२0७८ चैत्र ४ शुक्रबार

भारत सरकारको आर्थिक सहयोगमा महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले २ करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पताल भवनको बिहीबार संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् । मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरे । भवन निर्माण भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया ७५’ आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

अस्पतालले भोजपुर र आसपासका जिल्लाका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच प्रदान गर्ने भारतीय दूतावासले जनाएको छ । १५ शैय्याको क्षमता भएको अस्पतालमा प्रसूति कक्ष, २४सैं घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।