दार्चुला हुलाक सेवा लथालिङ ः दुई महिना देखि कार्यालय प्रमुख विहिन

२ बर्ष अघि

२0७८ चैत्र १ मंगलवार

दार्चुला हुलाक सेवा लथालिङ ः दुई महिना देखि कार्यालय प्रमुख विहिन

दृष्टिकोण समाचार, चैत्र १ दार्चुला । दार्चुला जिल्ला हुलाक कार्यालय दार्चुलामा विगत दुई महिना यता कार्यालय प्रमुख नहुँदा सबै प्रकारका सेवा प्रभावित भएका छन् । गत पुस ३० गते दार्चुला हुलाक कार्यालय प्रमुख पदमराज जोशीको सरुवा भएपछि उनको ठाउँमा दार्चुला कारागारका प्रमुख विरेन्द्र सिह धामीको हुलाकमा सरुवा भएको छ । हालसम्म धामी हुलाक कार्यालयमा हाजिर नहुँदा पछिल्लो दुई महिना यता हुलाक कार्यालयका सबै सेवा प्रभावित भएका छन् । जिल्ला हुलाका कार्यालयमा स्थायी, अतिरिक्त हुलाक सेवा तथा करारमा गरी २ सय जना कर्मचारीको दरबन्दी रहेको छ । कार्यालय प्रमुख नहुँदा दुई महिना देखि कर्मचारीहरुले तलब भत्ता समेत नपाएको हलाक कार्यालयका कर्मचारी हरिदत्त जोशीले जानकारी दिनुभयो ।
पुस ३० गते पछि जिल्ला हुलाक कार्यालय दार्चुलामा कार्यरत खरिदार मदन सिह ठगुन्नाले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका थिए । उनी अहिले सेवाकालिन तालिमका लागि दिपायलमा रहेका छन् । त्यसपछि दैनिक कार्य सञ्चालनका लागि मनोरथ प्रसाद जोशीलाई निमित्तको जिम्मेवारी रहेको थियो । जोशी पनि जिल्ला बाहिर रहेकोले फागुन २५ गतेबाट विसनसिह बुढाथोकीलाई निमित्त तोकिएको छ । 
सबै सेवा प्रभावित
जिल्ला हुलाक कार्यालय विहान १० बजे देखि खुल्ने र ५ बजे बन्द हुने बाहेक कुनै सेवा रहेको छैन् । २ दिनमा पुग्ने डाँक सेवा महिना दिनमा पुग्ने गरेको छ । सरकारी कामका लागि आवस्यक पर्ने हुलाक टिकेट पनि अभाव हुन थालेको छ । विज्ञापन बोर्डले दिने लोक कल्याणकारी विज्ञापनको भुक्तनी देखि कर्मचारीको तलब भत्ता समेत दुई महिना देखि रोकिएको छ ।
हुलाक विभागको ताकेता
हुलाक विभाग तथा निर्देशनालयले यो विषयमा जानकारी प्राप्त भएको र आर्थिक अख्तियारी सहितको पत्र मदन सिह ठगुन्नालाई पठाई सकेको छ । सामान्य प्रशासनले कार्यालय प्रमुखमा विरेन्द्र सिह धामीलाई सरुवा गरेपनि हालसम्म हाजिर नभएको बारेमा जानकारी लिँदा कारागार कार्यालयमा कार्यरत धामीलाई गृह मन्त्रालयले रमाना नदिएको भन्ने बुझीएको हुलाक निर्देशनालयका सहायक निर्देशक यज्ञराज भट्टले जानकारी दिनुभयो ।