पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस

२ बर्ष अघि

२0७८ फाल्गुन २६ बिहीबार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ। प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग एन ९पीएमएलएन० ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो। अहिले सदन नचलेकाले संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन्। उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्ने छ।


विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन्। पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ। ३४२ सदस्य रहेको राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पारित हुनका लागि १७२ भोट आवश्यक पर्छ।


विपक्षी गठबन्धनले १७२ भोट जुटाएमा इमरान खान सत्ताबाट बाहिरिनेछन्। खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ ९पीटीआई० सँग राष्ट्रिय सभामा १५५ सिट मात्रै छ। उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन्। खानलाई समर्थन गर्ने अधिकांश पार्टी सेनाको नजिक रहेका छन्। खान सरकारलाई सघाउने प्रमुख पार्टीहरू पाकिस्तान मुस्लिम लिग कायद ए आजम र मुत्ताहिदा कौमी मुभमेन्ट हु्न्। उनीहरूले पनि खान सरकारले आफूहरूलाई पर्याप्त रूपमा सहभागी नगराइएको आरोप लगाएका छन्। सरकारका सहयोगी दलले विपक्षी दललाई सघाए मात्रै खानविरुद्ध अविश्वास प्रस्ताव पारित हुन्छ।


गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए। त्यतिबेला उनले १७८ भोट पाएका थिए। प्रधानमन्त्री खानले सरकार नढल्ने बरु अझ बलियो हुने प्रतिक्रिया दिएका छन्। विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव पेस गरेपछि निवासमै पत्रकाहरूसँगको कुराकानीमा उनले आफूलाई सरकारबाट बाहिर पठाउन खोज्ने विपक्षीको अन्तिम प्रयास भएको प्रतिक्रिया दिएका हुन्। साथै उनले विपक्षीलाई सन् २०२८ सम्म फर्किन नसक्ने गरी हराउने पनि बताएका छन्।