मन्त्री हुदाँ सात अर्बका ठूला योजना स्वीकृत गराएको छु, पूर्व मन्त्री ठगुन्ना

२ बर्ष अघि

२0७८ फाल्गुन २४ मंगलवार

मन्त्री हुदाँ सात अर्बका ठूला योजना स्वीकृत गराएको छु, पूर्व मन्त्री ठगुन्ना

दार्चुला । नेकपा एमाले केन्द्रिय पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले आफूले मन्त्रीको जिम्मेवारी पाएका बेला दार्चुलामा झण्डै ७ अर्बका ठूला योजना स्वीकृत गराउन सफल भएको दाबी गर्नुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाले आयोजना गरेकोे पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री ठगुन्नाले यस्तो बताउनु भयो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका थिए । छोटो समय मन्त्रीको जिम्मेवारी पाएकाले आफूले ३÷४ महिना मात्रै काम गर्न पाएको बेला जिल्लामा ७ अर्ब बजेटका ठूला योजना स्वीकृत गराउन सफल भएको दाबी गर्नु भएको छ । ‘म मन्त्री भएको बेलामा काम गर्न पाएको करिब ३ महिना जति हो, त्यो समयमा जिल्लाका लागि झण्डै ७ अर्ब बजेटका ठूला योजना परेका छन्’ पूर्व मन्त्री ठगुन्नाले भन्नु भयो । महाकाली कोरिडोर अन्तरगत दार्चुला जिल्लाको क्षेत्रमा मात्रै ३ अर्ब २७ करोड बजेट स्वीकृत गराएको दाबी गर्नु भयो । महाकाली कोरिडोरको क्षेत्र कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी समेत भएपनि दार्चुलाका लागि मात्रै उक्त बजेट विनियोजन भएको बताउनु भयो । यस्तै ९५ करोड बजेट विद्युत्का क्षेत्रमा मात्रै विनियोजन भएको बताउदै झण्डै ५० करोडको हाराहारीमा गोकुलेश्वर विमान स्थलका लागि बजेट सुनिश्चितता गराएको दाबी गर्नुभयो । देथला–खार खलंगा सडक खण्डको केही भागमा कालोपत्रेका लागि १० करोड र बिटुले–पारीबगड सडक खण्ड कालोपत्रेका लागि १० करोड बजेट निर्वाचन क्षेत्र रणनीतिक योजना अन्तरगत बजेट विनियोजन गरेको बताउनु भयो । उक्त योजनाको काम अगाडी बढाउन टेण्डर भइसकेको छ । जिल्लाका यस्तै विभिन्न योजना अन्तरगत झण्डै ७ अर्ब बजेट आफू मन्त्री भएका बेलामा सुनिश्चित गराएको भन्दै विकास निर्माणमा प्रतिष्पर्धा गर्न चुनौती दिनुभएको छ । अझै थुपै्र कामहरु गर्न बाँकी रहेको बताउदै कतिपय स्थानमा अझै घोरेटो बाटो समेत बनाउन बाँकी रहेकाले त्यस्ता सानातिना योजना वडा र स्थानीय तहले गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘विकास निर्माणमा प्रतिष्पर्धा गरौ, जिल्लाका लागि फाइदा हुन्छ, खुट्टा तान्ने काम बन्द गरौँ’ पूर्व मन्त्री ठगुन्नाले भन्नु भयो । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको नारा नै समृद्धि र भ्रष्टाचार बिरोध अभियान बनाउने भन्दै जिल्लाभरीका स्थानीय तहमा एमालेले जित्ने संकेत गरेका छन् । कम्युनिष्टले जितेका स्थानीय तह र कांग्रेसले जितेका स्थानीय तहको अवस्था सर्वसाधारण जनताहरुले समेत बुझ्न सक्ने भन्दै अबको निर्वाचनमा नौ ओटै स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने संकेत गरेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेको नेतृत्व आए भ्रष्टाचार बिराधी अभियान चलाउने दाबी गर्नु भएको छ । ‘हामी स्थानीय तहमा आउछौँ र पाँच वर्षमा भएका भ्रष्टाचारको भण्डाफोर गर्छौ’ पूर्व मन्त्री ठगुन्नाले भन्नु भयो । जिल्ला अस्पतालको ५० शैय्याको अस्पतालका लागि तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादव भएका बेला उक्त कार्यक्रम स्वीकृत गराएको समेत दाबी गर्नुभयो । यस्तै राष्ट्रिय रुपमा समृद्धिको अभियान चलाएको भन्दै मैले गरेको भन्ने होडबाजी गर्ने प्रबृत्तिले समाजमा असर पर्ने बताएका छन् । होडबाजी भन्दा प्रतिष्पर्धा गर्न समेत उहाँले चुनौती दिएका छन् ।