उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ?

२ बर्ष अघि

२0७८ फाल्गुन २४ मंगलवार

उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ?

काठमाडौं । उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्ने पुङ्ग्ये री क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकी विश्लेषकहले उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्रमा पूर्वाधार निर्माणलाई तीब्र पारेको पत्ता लगाएका हुन् ।

भू उपग्रहबाट प्राप्त तस्वीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको हो । अमेरिकाको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेशन स्टडिजका विश्लेषकहरुले भू उपग्रहबाट प्राप्त तस्वीरबाट आणविक परीक्षण केन्द्रमा नयाँ भवनहरुको निर्माण भइरहेको, पुराना सडकहरुको मर्मत गरिएको र नयाँ पूर्वाधारहरु पनि बन्ने क्रममा रहेको जनाएका छन् ।


यससँगै वर्ष २०२२ शुरु भएयता ९ पटकसम्म क्षेप्यास्त्त्र गरिसकेको उत्तर कोरियाले पुनः आणविक परीक्षण गर्न लागेको हुनसक्ने बताइएको छ । मक्सार नामक भू उपग्रह कम्पनीको क्यामेराबाट ती तस्वीरहरु लिइएको जनाइएको छ । पूर्वाधार निर्माणको काम शुरु भएपनि यसलाई पूर्ण सञ्चालनमा ल्याउन अझै केही समय लाग्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा अमेरिका र दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न भन्दै उत्तर कोरियाले आणविक परीक्षण केन्द्र बन्द गरेको घोषणा गरेको थियो । पुङ्ग्ये री आणविक परीक्षण गर्ने उत्तर कोरियाको प्रमुख क्षेत्र हो । उत्तर कोरियाले सन् २००६ यता ६ वटा आणविक परीक्षण गरिसकेको छ ।