ओली र भीम रावलबीच टकराव, एकले भने ‘हिरो’ अर्काले ‘महाहिरो’

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

ओली र भीम रावलबीच टकराव, एकले भने ‘हिरो’ अर्काले ‘महाहिरो’

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता भीम रावलबीच चर्काचर्की परेको छ । पार्टीको अनुशासन उल्लंघन गरेर ‘हिरो’ बन्न खोजेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेपछि नेता रावलले त्यसको कडा जवाफ फर्काएका हुन् । बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत् देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने भन्दै अध्यक्ष ओली देशको पक्षमा बोलेर ‘महाहिरो’ भए आफू औँधी खुसी हुने रावलले जवाफ दिए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’ मंगलबार अध्यक्ष ओलीले संसद्बाट ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्दा पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अध्यक्ष ओली नेता रावलमाथि खनिन पुगेका थिए । पार्टीले संसद् अवरोध गर्दै गर्दा नेता रावल रोष्टममा गएर एमसीसीमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए । यहीँ सन्दर्भलाई लिएर पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले रावल पार्टीको अनुशासन उल्लंघन गरेर हिरो बन्न खोजेको आरोप लगाएका थिए ।