जसपा अध्यक्ष भट्टराईद्वारा देश हितमा भएको एमसीसी तत्काल पास गर्न आग्रह

२ बर्ष अघि

२0७८ फाल्गुन १८ बुधबार

जसपा अध्यक्ष भट्टराईद्वारा देश हितमा भएको एमसीसी तत्काल पास गर्न आग्रह

काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए।

उनले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गरे। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए।

उनले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौंता पारित गराउन लागि परेको बताए। एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो। उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए।

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याए। उनले एमसीसी सम्झौंता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए। नागरिकन्युज