सरकारले भन्यो नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौं

२ बर्ष अघि

२0७८ फाल्गुन १६ सोमबार

सरकारले भन्यो  नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौं

काठमाडौं । सरकारले भारत, चीनलगायतका मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको हो । ‘सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ’ मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन् । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित भएको भोलिपल्ट सरकारले चीनलाई आश्वस्त गराउने गरी निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाप्रति आभार व्यक्त गरेको छ । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरेर सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।