नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी– यस वर्ष १ लाख ५० हजार टन मल ल्याइने

२ बर्ष अघि

२0७८ फाल्गुन १६ सोमबार

नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी– यस वर्ष १ लाख ५० हजार टन मल ल्याइने

काठमाडौँ । मलखादको आपूर्तिका लागि नेपाल र भारतबीच सम्झदारी भएको छ । जीटुजी व्यवस्थामार्फत् युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर एवं समझदारीपत्रको आदानप्रदान भएको हो ।

नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा र भारतका रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा व्यक्त गरे ।

यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । यो सम्झौता ५ वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने जनाइएको छ । समारोहमा मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो । खबरहव बाट