भारतबाट आयात हुने पुशपन्छी तथा मासुजन्य वस्तुमा निगरानी बढाईने

२ बर्ष अघि

२0७८ फाल्गुन १६ सोमबार

भारतबाट आयात हुने पुशपन्छी तथा मासुजन्य वस्तुमा निगरानी बढाईने

दार्चुला । दार्चुलामा भारतीय बजारबाट आयात हुने पन्छी तथा मासुजन्य वस्तुमा निगरानी बढाईने भएको छ । भारतबाट बजारमा मासु तथा अण्डाजस्ता वस्तुहरु आयात हुने गरेको भन्दै निगरानी बढाईने भएको हो । जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समन्वय समितिको बैठकले सीमा क्षेत्रमा हुने पशुजन्य आयात निर्यातमा निगरानी बढाउने भएको हो । प्राविधिक समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भारतीय बजारबाट अवैध रुपमा सेतो अण्डा, चल्ला, क्रेट, कुखुराका दाना लगायतका वस्तु दार्चुला बजारमा भित्रिरहेको भन्दै पशु क्वारेन्टाइन चेकपोष्ट र सुरक्षाकर्मीको सहायतामा निगरानी बढाउने निर्णय गरिएको हो । अहिले पछिल्लो समय बजारमा छ्याप्पछ्याप्ती रुपमा भारतीय अण्डा तथा दाना पानी भित्रिने गरेको छ । भेटेनरी अस्पतालका प्रमुख रामबहादुर खड्काले सबैको सहयोगमा भारतबाट आयात हुने पशुजन्य र मासुजन्य वस्तु नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय नेपालका केही शहरहरुमा बर्डफ्लुको संक्रमण देखिएको भन्दै दार्चुलामा पनि उच्च सतर्कता अपनाउनु पर्नेमा सरोवकारवालहरुले जोड दिएको हो ।