दार्चुला अस्पतालका सवै सेवा सुचारु

२ बर्ष अघि

२0७८ फाल्गुन ४ बुधबार

दार्चुला अस्पतालका सवै सेवा सुचारु

दार्चुला । जिल्ला अस्पताल दार्चुलाले बन्द गरिएका आफ्ना सबै सेवा आइतबारबाट सुचारु गरेको छ। स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा सङ्क्रमित स्वास्थ्यकर्मी आइशोलेसनबाट मुक्त भएपछि अस्पतालले सेवा सुचारु गरेको हो।

जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिडेन्ट आर्दश लिम्बुले १० दिन सम्मका लागि बन्द गरिएका अस्पतालका बन्द सेवा सुचारु गरिएको बताए। यसअघि अस्पतालले स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सङ्क्रमण बढ्ने त्रासले अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सबै सेवा अस्पतालले अर्को सूचना प्रकाशन नगर्दा सम्मका लागि बन्द गरेको जनाएको थियो।

फागुन १ गते अर्थात आइतबार बाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु भएको जनाउँदै चिकीत्सक र स्वास्थ्यकर्मी चौबीसै घण्टामा सेवामा खटिएको उनले बताए। अस्पतालका बन्द रहेका सेवा सुचारु भएसँगै बिरामीलाई अहिले सहज भएको छ।
यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसूति, कोरोना परीक्षण र खोप लगाउने कार्यबाहेक अन्य सेवा बन्द गरेको थियो। कोरोनाको तस्रो लहर सुरु भएपछि जिल्ला अस्पताल दार्चुलाका ३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएको थियो।