पढ्दै कमाउदै कार्यक्रममा १५ विद्यालयको आवेदन

२ बर्ष अघि

२0७८ माघ २६ बुधबार

पढ्दै कमाउदै कार्यक्रममा १५ विद्यालयको आवेदन

दार्चुला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत सञ्चालित बढ्दै कमाउदै कार्यक्रमका लागि दार्चुलाका १५ विद्यालयले आवेदन पेस गरेका छन् । आवेदन दिएका सबै विद्यालयलाई छनोटका लागि केन्द्रमा सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । पढ्दै कमाउदै कार्यक्रम यो बर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा थप गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाबाट यो बर्ष करिब दुई सय विद्यालय सिफारिस भएका छन् । दार्चुलाका नौँ वटै स्थानीय तहबाट आवेदन परेका करिब दुई सय विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । उक्त कार्यक्रममा छनोट हुने विद्यालयमा भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाले जनाएको छ ।


आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाइएको प्रमुख पन्तले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छनोट गरी शिक्षा मन्त्रालयले अन्तिम निर्णय गर्ने भएकोले आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने बताइएको छ । गत बर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालित छ ।