टावरको हिउँ सफा गरेपछि फोन सेवा सुचारु

२ बर्ष अघि

२0७८ माघ २४ सोमबार

टावरको हिउँ सफा गरेपछि फोन सेवा सुचारु

दार्चुला । हिमपातका कारण झण्डै एक हप्ता सम्म सञ्चार विहीन बनेको ब्यास क्षेत्रमा फोन सेवा सुचारु गरिएको छ ।  ब्यास गाउँपालिका वडा नं ४ कैचुलामा रहेको नेपाल टेलिकम टावरको सोलार प्यानलमा रहेको हिउँ पन्छ्यापछि टावर संचालनमा आएको हो । स्थानीय युवाहरुको टोलीले सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि सोमबार दिउसो १२ बजेबाट टावर सञ्चालनमा आएको हिउँ पन्छाउन गएका स्थानिय महेश सिंह विष्टले बताउनु भयो ।  स्थानिय महेश विष्ट लगायत ५ जनाको टोली भारी हिमपातको बाटो छिचोल्दै हिउँ पन्छ्याउन कैचुला टावरमा पुगको थियो । सौर्य ऊर्जाबाट ब्यास क्षेत्रमा टावर सञ्चालन गरिएकोले हिमपात परेका बेला सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । सञ्चार विहीन हुदाँ केहि घटनाको जानकारी दिन समेत समस्या हुने गरेको स्थानीय एवम् पत्रकार मान सिह कुवरको भनाई छ ।  ब्यास गाउँपालिका वडा नं ४ कैचुलामा रहेको नेपाल टेलिकमको टावरबाट सुन्सेरा, धौलाकोट, सिना, राप्ला, दुम्लीङ लगायत भारतको सोसा, पांगु, पाङला लगायत गाउँका बासिन्दा समेत सेवा लिने गरेका छन् । गाउँघरबाट बाहिर रहेका आफन्तहरु संग कुराकानी गर्न समस्या भइरहेका बेला जोखिम छिचोल्दै हिउँ पन्छ्याएर टावर सुचारु गर्न सफल भएको स्थानिय महेश विष्टले जानकारी दिनुभयो । गत पुष अन्तिममा पनि नेपाली सेना र युवाहरुले सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको थियो  ।