काठमाण्डौ । सरकारले कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।
सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।
सरकारी अधिकारीहरूले फागुन १ गतेदेखि विद्यालय खोल्ने गरी तयारी गरेको जानकारी गराएका अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो । आफूहरूले विद्यालय खोल्ने वा बन्द गर्ने सबै अधिकार पालिकालाई दिन माग गरेको पनि उहाँले बताउनुभयो । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।
यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।