खगेश्वरा बुढा (ज्योती)
यौन हिंसा, बलात्कार जस्तो जघन्य अपराधमा कुनै विचार, पक्षको भएकै आधारमा अपराधीले उन्मुक्ति पाएका घटना पनि छन् । सबै मिलेर कम्तिमा पनि अपराधीलाई संरक्षण नहुने वातावरण भयो भने पनि हामी सफल भएको मान्नुपर्छ । बलात्कृत महिलाको बाबु पुरुष नै हो । दाजु पुरुष हो । यद्यपि महिला बलात्कृत पनि पुरुषबाटै हुन्छन् । त्यसैले आफ्ना छोरी, आमा, श्रीमती, दिदीबहिनी बलात्कृत हुँदा अर्को पुरुषलाई पीडा झनै बढी हुन्छ । बलात्कारी अपराधी हो । यो जघन्य अपराध विरुद्ध आ आप्ना ठाँउ बाट पुरुष पनि उत्तिकै सशक्त हुनुपर्दछ । पछिल्ला दिनहरुका घटना हेर्दा, बलात्कार बढ्दो देखिन्छ । भोग्नेलाई यो पीडादायी यथार्थले कति पोल्दो हो । सोचाई शक्ति भन्दा बाहिर छ । केहि समयअघि मात्रै कञ्चनपुरको उखुबारीमा बलात्कारपछि बालिकाको हत्या गरियो । तर दोषीको पक्राउ अनि कारबाहीको विषयमा आन्दोलन चलिरहेको छ । बाहिरबाट हेर्दा अन्यौलमै देखिन्छ । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास गरेको भन्दै सर्वत्र त्यसको विरोध भइरहेको छ । निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले पनि प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । पश्चिम नेपाल सुर्खेतमा छाउगोठमा साथी बस्न गएकी किशोरी बलात्कृत भइन् । उनलाई सामुहिक बलात्कार गरिएको थियो । त्यस्तै गर्भ्निरोधक औषधी खुवाएर काठमाडौंमै बस चालक र सहचालक मिलेर बौद्धिक अपाङ्गता भएकी किशोरीलाई हप्तौं बन्धक बनाएर बलात्कार गरेको घटना पनि पुरानो भएको छैन । यी बाहेक पनि सयौँ बलात्कारका घटनाहरु दिनानुदिन हाम्रो सामु आइरहेका छन्, ती फेहरिस्त व्याख्या गरिसाध्य छैन । के बालिका ! के किशोरी ! के अधबैशे ! के वृद्धा ! के बौद्धिक अपाङ्गता भएका महिला । हर उमेर र अवस्थाका महिला बलात्कृत भएका छन् । ८ महिना बालिका भनिएको छैन । न त भनिएको छ ७० वर्षकी बृद्धा । आफ्नै बाउले आफ्नो अंश, आफ्नै रगत, आफ्नैे छोरीको बलात्कार गरेको घटना नौलो भएन ।
दिन प्रतिदिन बढ्दै गइरहेको बलात्कार र बलात्कारीलाई फाँसीको माग गर्दै भदौ २ गते पेटीकोट लगाएर भएको विरोध प्रदर्शन बारे सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की नभएको पनि कहाँ हो र । बलात्कार र हत्या जस्ता गम्भीर प्रकृतिका अपराधबाट पीडित भएकाहरुको पक्षबाट प्रभावकारी अनुसन्धान र अभियोजन हुन नसक्दा अपराधका घटनाको कानूनी पक्ष कमजोर हुने, प्रमाण संकलनमा ढिलाई भई प्रमाण लोप हुनसक्ने, सामाजिक वहिष्करणमा पर्ने डरले घटनालाई आन्तरिक रुपमा मिलापत्र गराउने, साक्षी संरक्षणको व्यवस्था हुन नसक्ने जस्ता कारणबाट हिंसापीडित महिला तथा बालिकाहरु न्यायबाट वञ्चित हुनपुग्ने गरेका तमाम खबर पनि नपढेको र नसुनेको कहाँ हो र । व्यक्ति, परिवार, समाज र राज्यले आफ्नो कर्तव्य र भूमिका त्यही ढंगले निभाउन नसकेसम्म यस्ता घटना कम हुने छाँट पनि देखिँदैन । एउटा पुरुषलाई बलात्कारी बन्न नदिन घरपरिवार, उ आफैं, समाज र राज्यको भूमिका महत्वपूर्ण हुन्छ । समाजशास्त्रीहरुका भनाई र प्रहरी अनुसन्धानअनुसार शिक्षा, चेतना र आर्थिक अवस्था कमजोर भएका पुरुषहरु बलात्कारका घटनामा संलग्न हुने गरेका छन् ।। पढेलेखेका र शिक्षित व्यक्तिहरुबाट पनि बालिका र किशोरी यौनजन्य हिंसाबाट पीडित हुन्छन् । माया गरेको निहुँमा बालिका र किशोरीलाई चिमोट्ने तथा चुम्बन गर्ने क्रियाकलापलाई सामान्य मानिन्छ ।
त्यसैले एउटा पुरुषलाई बलात्कारी बन्नबाट रोक्न दण्ड, सजाय मात्रै पर्याप्त छैन । उसलाई बाल्यकालदेखि नै शिक्षा, चेतना, आचरण र अनुशासन सिकाउन जरुरी छ । एउटा बालक परिपक्क नहुँदासम्म उसलाई रेखदेख र असल मार्गमा हिँडाउने पहिलो दायित्व परिवारको हो । उचित शिक्षा, असल चालचलन र बानीव्यहोरा, अनुशासन लगायत असल चरित्र हुन आवश्यक सबै कुरा परिवारबाट पाउनुपर्छ । त्यसपछि नैतिक शिक्षा र आचरणका थप पाठ उसले स्कुलमा सिक्छ । घरपरिवार र स्कुलले उसका हरेक गतिबिधि नियाल्दै उसलाई शिक्षा र सही मार्ग निर्देशन दिने हो भने उसले कहिल्यै पनि मनमा खराब भावना पाल्न सक्दैन । त्यसैले एउटा पुरुषलाई भोलि बलात्कारी बन्न नदिन उसलाई बाल्यकालदेखि नै घरपरिवार र स्कुलले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । जब व्यक्ति आफू पनि असल चरित्रको हुन्छ र अरुलाई पनि असल चरित्रको बनाउन प्रेरित गर्छ भने समाजमा बलात्कारजस्ता आपराधिक क्रियाकलाप गर्न आँट गर्न सक्ने कोही पनि हुँदैन । कहिले सम्म एउटा बाहिरी दुनियाँ मात्र हैन, गर्भमै छँदा पनि छोरीहरु सुरक्षित छैनन् । आफनो कोखमा छोरा कि छोरी छे भनेर भु्रण जाँच गराउँदा छोरी रहिछ भने मात्र पनि नाक खुम्चाउनुपर्ने अवस्था छ । भु्रण हत्या जति नै गैरकानुनी भनेर भने पनि छोरी भु्रणलाई कोखमा हत्या गर्ने काम पनि भित्रभित्रै बढिरहेको छ । अनि कहाँ रहि त छोरी सुरक्षित छोरी जन्माएपछिको त्रासको जिन्दगी भन्दा पहिले भुणमै मार्दा उचित हुनेसम्मको सोच आउन थालिसक्यो महिलाहरुमा । यो सोच यतिकै आएको हैन, समाजमा बढ्दै गरेको असुरक्षाले छोरीहरु जन्माउनुअघि नै निष्ठुर बन्दै छन आमाहरु । बाहिर जति नै बलियो रुपमा छोरी नै छोरा हो भन्ने सोच राख्ने आमा पनि भित्रभित्रै समाजको घिनलाग्दो नजरबाट छोरीलाई बचाउनु ठुलो युद्धको सामना गर्नु जत्तिकै ठान्दछन् । फरक यति हो कसैले व्यक्त गर्लान् त कसैले नगर्लान् । तर त्रास हमेसा रहन्छ । हाम्रो समाजमा बलात्कार, हत्या जस्ता जघन्य अपराध बढ्दै गएका थिएनन् भने यस्ता डर पनि हुने थिएन । अब छोरीहरुलाई राम्रो छुवाई के हो ? नराम्रो छुवाई के हो ? को सँग कस्तो व्यवहार गर्ने ? अप्ठ्यारो परेको बेलामा कसरी सावधानी अपनाउने भन्ने बारेमा सिकाउनु जरुरी छ । कम्तिमा परिवारका कोही सदस्यले त यस्ता विषयमा छोरीलाई सचेत गराउँ । अब यस्ता प्रतिरक्षाका कुरा गाँउ–गाउँ, टोल–टोल हरेक जमातमा खुलेरै छलफल हुन आवाश्यक छ । त्यस्तै छोरीलाई शारीरिक अभ्यास जस्तै तेक्वान्दोदेखि लिएर अन्य खेलकुदका अभ्यासहरुमा पनि दक्ष बनाउन आवश्यक छ । अनि मात्र परिवारले नै आफ्नो छोरोलाई बलात्कारी बन्न र छोरीलाई बलात्कृत हुनबाट जोगाउन सक्छ ।