दार्चुला । दार्चुला जिल्लामा करिब दुई हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाकै सबैभन्दा बढी जनघनत्व रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा करिब दुई हप्तादेखि खानेपानीको समस्या भएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । माघ पहिलो हप्तादेखि सदरमुकाम खलंगा क्षेत्रमा खानेपानीको हाहाकार हुदाँ अहिले सदरमुकाम खलंगा क्षेत्रमा बिहान र बेलुका पानी बोक्नेहरुको लाइन लाग्ने गरेको छ । सदरमुकाम क्षेत्रमै खानेपानीको हाहाकार हुदाँ सिंगो जिल्लाकै खानेपानीको समस्यालाई प्रतिबिम्बित गरेको छ । महाकाली नगरपालिका वडा नमबर ३ मालबेला क्षेत्रमा खलंगा–दल्लेख सडक खण्डबाट शाखा सडक निर्माणका क्रममा जिल्ला सदरमुकाम खलंगाका लागि बिछ्याइएको खानेपानी पाइप लाईन बिच्छेद भएकाले खानेपानी अबरुद्ध भएको हो । खानेपानी तथा ढल निकास समिति अध्यक्ष जयदेव जोशीले यसअघि नै ठेकेदारलाई मर्मत गर्न भनेको र प्लम्बर समेत पठाएको बताएका थिए । तर अहिलेसम्म खानेपानी सञ्चालन हुन सकेको छैन । खानेपानी अभाव भएपछि केही क्षेत्रमा भने महाकाली नगरपालिकाको दमकलले खानेपानी वितरण गरिएको थियो । त्यो पनि सबै जिप्रका आसपासका क्षेत्रमा मात्रै वितरण गरेको थियो । नगरपालिका क्षेत्र समेत रहेको जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा खानेपानी भर्नेहरुको भीडभाड हुने गरेको छ भने सडक, बाटोहरुमा पानी बोक्नेहरुको लाइन लाग्ने गरेको छ । तर सम्बन्धित निकायले भने यसमा चाँसो नदेखाएको उपभोक्ताहरुको गुनासो छ ।