दार्चुलाका लागि ३ हजार डोज खोप आइपुग्यो, जिल्लाका तीन ठाउँबाट लगाइदै

२ बर्ष अघि

२0७८ माघ २ आईतवार

दार्चुलाका लागि ३ हजार डोज खोप आइपुग्यो, जिल्लाका तीन ठाउँबाट लगाइदै

दार्चुला । दार्चुला जिल्लाका लागि कोभिड–१९ विरुद्धको ३ हजार डोज ‘जोन्सन एन्ड जोन्सन’ खोप आइपुगेको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित ‘जेन्सेन एडी २६ सिओभी २’ खोप शुक्रबार दार्चुला आइपुगेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

केही दिनदेखि जिल्लामा खोपको अभाव रहेकाले माग गरेअनुसार जोन्सन एन्ड जोन्सन खोप प्राप्त भएको उनले बताए । उनका अनुसार जिल्लाका लागि अहिले ३ हजार डोज खोप उपलब्ध भएको छ । यो खोप एक डोज लगाए पुग्छ ।
तीन खोप केन्द्रबाट नियमित खोप 
जिल्लामा संचालित तीन नियमित खोप केन्द्रबाट अहिले प्राप्त जोन्सन एन्ड जोन्सनको खोप लगाइदै छ । जिल्लाका महाकाली नगरपालिका–४स्थित खलंगा पुलघाट नाका, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट नियमित खोप दिइरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बिरेन्द्र प्रसाद भट्टले बताए ।

यसअघि यी खोप केन्द्रमार्फत छुट तथा दोस्रो मात्रा खोप लगाउन बाँकी नागरिकहरुलाई एष्ट्राजेनिका र भेरोसेल खोप लगाइदै आएको थियो । दार्चुलामा ७८ प्रतिशत नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।