प्रदेश मन्त्री जोशीद्वारा दार्चुला कारागारको निरीक्षण अनुगमन

२ बर्ष अघि

२0७८ पुष २१ बुधबार

प्रदेश मन्त्री जोशीद्वारा दार्चुला कारागारको निरीक्षण अनुगमन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले कारागार दार्चुलाको निरीक्षण अनुगमन गर्नु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मार्मा गाउँपालिकामा पालिका स्तरीय कमिटि गठन गर्न मंगलबार जिल्ला आइपुगेका कानुन मन्त्री जोशीले बुधबार जिल्ला कारागारको निरीक्षण अनुगमन गर्नु भएको हो । प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने कार्यक्रम रहेकाले जिल्ला कारागारको अवस्था लगायतका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताउनु भयो । विपद्मा सबैभन्दा बढी प्रभावित कारागारभित्र परेका कैदी तथा थुनुवाहरु प्रभावित हुने भन्दै कारागारको अवस्थाका बारेमा अनुगमन गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्री जोशीले बताउनु भयो । ‘विपद्का बेला सबैले भाग्न सक्छन् तथा कैदी बन्दीहरुले भाग्न सक्दैनन, प्रदेश सरकारले कारागार व्यवस्थान गर्ने योजना बनाएको छ’ मन्त्री जोशीले भन्नु भयो ।


कारागारभित्र परेका सबै जना अपराधी नहुने तथा सधैँका लागि अपराधी नहुने बताउदै उनीहरुको आयआर्जनका लागि सीपमुलक कार्यक्रम अन्तरगत प्रदेश सरकारले कारागार दार्चुलाका लागि ४ लाख बजेट विनियोजन गरिएको बताउनु भयो । कारागारमा परेकाहरुले कारागार भित्रै विभिन्न सीपमुलक कार्य गर्न सकुन् भन्ने उद्देश्यले सीपमुलक कार्यक्रम अन्तरगत चार लाख बजेट विनियोजन गरिएको बताउनु भयो । साथै कारागारको भौतिक सुधारका लागि पनि आफूले पहल गर्ने बताउनु भयो । साथै चालु आर्थिक वर्षका जिल्ला कारागारको मर्मतका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । आठ लाख रकम थोरै भएपनि उक्त रकम अत्यावश्यक क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् । क्रमागत रुपमै भएपनि भौतिक सुधारका लागि पहल गर्ने आश्वासन दिदै नभए आगामी वर्षको कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी आर्थिक वर्षमा समेत जिल्ला कारागाका लागि अत्यावश्यक हो सो को जानकारी गराउन कारागार प्रमुखलाई निर्देशन गरेका छन् । जिल्ला कारागारको अवस्था लगायत दार्चुला जिल्लाको समग्र अवस्थाका बारेमा बुझ्न आफ्नो जिल्ला भ्रमण रहेको मन्त्री जोशीको भनाई छ । आगामी आर्थिक वर्षका योजना बनाउनका लागि समेत जिल्लाको अवस्थाको बारेमा बुझ्न आफू दार्चुला आएको बताउनु भयो ।

 

जिल्ला कारागार प्रमुख बिरेन्द्र सिंह धामीले जिल्ला कारागार भित्र क्षमता भन्दा बढी कैदी तथा थुनुवा राख्नु पर्ने बाध्यता रहेकाले निकै समस्या भएको बताउनु भयो । जिल्ला कारागारको क्षमता जम्मा ४० जना मात्रै हो, अहिले कैदी र थुनुवा गरी ६९ जना रहेका छन्’ धामीले भन्नु भयो । जिल्ला कारागारको क्षमता १५ जना महिला र २५ जा पुरुष गरी जम्मा ४० जनाको मात्रै क्षमता रहेको छ । कारागारमा दुई जना महिला र ६७ जना पुरुष रहेका छन् । एक जना नाबलक समेत आमा संगै कारागारभित्र रहेका छन् । तर क्षमता भन्दा बढी कैदी तथा थुनुवाहरु राख्नुपर्ने बाध्यता सिर्जना भएकाले कैदी तथा थुनुवाहरुलाई समस्या भइरहेको छ । भित्र शौचालयको तथा बास बस्न निकै कठिनाई हुदै आएकोमा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको पहलमा शौचालयको व्यवस्थापन गरि केही सहज भएको कारागार प्रमुख धामीले बताउनु भयो ।


वि.सं. २०२२ सालमा निर्माण गरिएको कारागार २०४१ सालमा मात्रै बन्दी गृह मर्मत भएकाले भित्रका ब्लकहरु जीर्ण अवस्थामा रहेका छन् भने पानी पर्दा चुहिने अवस्था रहेको छ । मन्त्री जोशीले बिहान कार्यालय प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गरी जिल्ला कारागार, दार्चुला भन्सार कार्यालय, सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण अनुगमन गर्नु भएको छ । साथै छन्ना कन्या तिंकरी मावि खलंगा र जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरि बुधबारै फर्किने कार्यक्रम समेत रहेको छ ।
मन्त्री जोशीसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बहादुर बम, प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, कारागार प्रमुख बिरेन्द्र सिंह धामी लगायतको टोलीले कारागारको निरीक्षण अनुगमन गरेको हो ।