नौगाडमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रबेश

२ बर्ष अघि

२0७८ पुष ११ आईतवार

नौगाडमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष  एमालेमा प्रबेश

दार्चुला ।नौगाड गाउँपालिकामा कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष बहादुर सिंह बोहरा नेकपा एमालेमा प्रबेश गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित बोहरा शनिबार नौगाडको होपरीगाढमा आयोजित बृहत् कार्यकर्ता भेला कार्यक्रममा प्रबेश गरेको नेकपा एमालेका नौगाड गाउँ कमिटि अध्यक्ष जनक सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिकाका ६ ओटा वडाहरुमध्ये वडा नम्बर ३ मा मात्रै नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । एउटा वडा मात्रै जीत हात पारेको कांग्रेस अब क्लीन स्वीप भएको छ । वडा नम्बर ३ का वडाध्यक्ष पनि एमालेमा प्रबेश गरेसंगै नौगाड गाउँपालिकाका सबै वडा कम्युनिष्टमय बनेको एमाले नौगाड गाउकमिटि सचिव ललित सिंह ठगुन्नाले बताउनु भयो । वडा नम्बर १, २, ४ र ५ मा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । वडा नम्बर ६ को वडाध्यक्षमा भने नेकपा माओबादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । वडा नम्बर ३ मा निर्वाचित वडाध्यक्ष नै एमालेमा प्रबेश गरेसंगै पाँच ओटा वडामा एमालेका नेताले वडाध्यक्षको नेतृत्व गर्नेछन् ।
नेकपा एमालेमा प्रबेश गर्दै वडाध्यक्ष बोहराले नौगाढ गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको जनप्रतिनिधि भई कामकारबाही र सोच बिचारले प्रभावित भई एमालेमा प्रबेश गरेको बताउनु भयो । ‘हामी ४ वर्ष सं–संगै बितायौ, तर नौगाडमा पक्ष र विपक्षको अनुभूति नै भएन, उहाँको बिचार र काम देखेर एमालेमा प्रबेश गरेको हुँ’ वडाध्यक्ष बोहराले भन्नु भयो । व्यक्तिगत स्वार्थ भन्दा जनताको सेवा गर्नकै लागि नेकपा एमालेलेमा प्रबेश गरेको बताएका छन् । साथै नेपाली कांग्रेसबाट बेला–बेला असहयोग भएकाले धान्न नसकेर एमालेमा प्रबेश गरेको वडाध्यक्ष बोहराको भनाई छ ।
वडा नम्बर ३ का निर्वाचित वडाध्यक्ष बोहरासंगै नेपाली कांग्रेसबाट १ सय १२ जनाले एमालेमा प्रबेश गरेको गाउँ कमिटि अध्यक्ष जनक सिंह ठगुन्नाले जानकारी दिनुभयो । नेकपा माओबादी केन्द्रबाट ३८ जना र राप्रपाबाट तीन जनाले गरी जम्मा १ सय ५३ जनाले नेकपा एमालेलेमा प्रबेश गरेका छन् ।
कार्यक्रम सम्पन्न पश्चात् विभिन्न राजनीतिक दलहरुबाट पनि पार्टी प्रबेश गर्ने क्रम जारी रहेकाले बेलुकासम्म झण्डै अढाई सय जनाले एमालेमा प्रबेश गरेको नेकपा एमाले जिल्ला कमिटि प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
नेकपा एमाले नौगाड गाउँपालिकाका गाउँ कमिटि अध्यक्ष जनक सिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, सुदूरपश्चिम सह–इन्चार्ज एवं पूर्व मन्त्री गणेश सिंह ठगुन्ना प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा एमाले जिल्ला अधिवेशन आयोजक कमिटि अध्यक्ष रामदत्त जोशी, सुदूरपश्चिम प्रदेश कमिटि सदस्य देव सिंह महर, नेकपा एमाले जिल्ला कमिटि उपसचिव चरन सिंह बुढाथोकी, एमाले प्रचार प्रसार विभाग प्रमुख खडक बडाल, एमाले नेता मंगलसिंह ठगुन्ना, जिल्ला कमिटि सदस्य एवं युवा नेता उमेश जोशी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।