डुङ्गरी जलविद्युत मर्मत गरी हस्तान्तरण गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुरोध

२ बर्ष अघि

२0७८ पुष ७ बुधबार

डुङ्गरी जलविद्युत मर्मत गरी हस्तान्तरण गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुरोध

दार्चुला । विद्युत गृहभित्र बाढी पस्दा बन्द भएको डुङ्गरी जलविद्युत आयोजना ममर्तका लागि महाकाली नगरपालिकाले सक्रियता देखाएको छ । मंगलवार नगरप्रमुख हसंसराज भट्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसँग विद्यूतगृह मर्मत तथा नगरपालिकालाई हस्तान्तरणका लागि अनुरोध गरेका छन् । महाकाली नगरपालिका—३स्थित डुङ्गरी जलविद्युत आयोजना गत वर्षको साउन महिनामा लास्कु खोलामा आएको बाढिले क्षति गरेको थियो । उक्त विद्युत गृह डेढ वर्ष बितिसक्दा पनि मर्मतसम्भार हुन सकेको छैन् ।

क्षतिग्रस्त विद्युत गृहको यथाशीघ्र तथा यथोचित मर्मतसहित नगरपालिकालाई हस्तान्तरण गरिदिन नेपाल विद्युत प्राधिकरणसँग अनुरोध गरिएको महाकाली नगरपालिकाका प्रमुख हसंसराज भट्टले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई ग्रामिण क्षेत्रमा विद्युतीकरण थप तथा सुधार कार्यलाई छिटो छरितो गर्नपनि माग गरिएको उनले बताए । यहाँका स्थानीयहरुले नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र दार्चुलामा विद्युत गृह मर्मत गरिदिन पटक पटक निवेदन दिदै आएका छन् । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिनु अघि दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा डुङ्गरी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वितरण गरिएकोमा अहिले विद्युत उत्पादन बन्द हुदा समस्या भएको छ ।

गत वर्ष साउन ४ गते लास्कुखोलामा आएको बाढीले विद्युत गृह भित्र पानी र गिट्टी बालुवा थुपारेको छ । उक्त पावर हाउसको प्राविधिकहरुले स्थलगत निरीक्षण गरेको भएपनि मुख्य उपकरणहरु काम नलाग्ने गरेर बिग्रेकोले नयाँ फेर्नुपर्ने तथा लागत धेरै लाग्ने भएकोले अहिलेसम्म मर्मत हुन सकेको छैन् ।