दार्चुलामा हिउँदे तरकारी लगाउन सुरु

२ बर्ष अघि

२0७८ पुष ७ बुधबार

दार्चुलामा हिउँदे तरकारी लगाउन सुरु

दार्चुला ।  दार्चुला जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउदै लगिएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको हो । यहाँ बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ । जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत शङ्करदत्त अवस्थीले बताउनुभयो । दार्चुलामा बर्खे तरकारी मात्रै ६१५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जसबाट ६ हजार ४०५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । यसैगरी हिउँदे तरकारी ३४० हेक्टर क्षेत्रफलमा लगाइने गरिएको छ ।

जसमा चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याङ्क छ । यस्तै जिल्लामा व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती पनि बढ्दै गएको छ । दार्चुलामा हाल ६३१ हेक्टर क्षेत्रफलको जमीनमा बेमौसमी तरकारी खेती गर्ने गरिएको छ । त्यसबाट ६ हजार २९३ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा ३४० हेक्टर क्षेत्रफलमा बर्खे तरकारी खेती लगाइने गरिएको छ जसबाट वार्षिक चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय स्थानीय तह, सङ्घ, प्रदेश र गैरसकारी सङ्घ संस्थाले पनि तरकारी उत्पादन बढाउन र यसको व्यावसायीकरणका लागि सहयोग गर्दै आएका छन् । जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा ठूलो मद्दत गरेको छ । तरकारी लगाउने सिजन शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा हिउँदे तरकारी लगाउन थालिएको छ ।

 गहु छर्कि सकेका किसान यतिबेला हिउँदे तरकारी लगाउन व्यस्त बनेका छन् । किसानले काउली, बन्दा, ब्रोकाउली, रायो, मुला, चम्सुर, पालुङ्गो, धनियाँ, गाँजर लगायतका तरकारी लगाउन शुरु गरेका छन् । माघसम्म हिउँदेबाली लगाउन सकिने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।  कृषि प्राविधिकले हाइब्रिड भन्दा स्थानीय जातको मीठो हुने भएकाले मौसमी खेतीमा किसानको आकर्षण बढी देखिएको बताएका छन् । प्याज,काउली, बन्दा लगायतका तरकारीको बेर्ना उमार्ने काममा किसान लागेका छन् ।

कतिपय स्थानका किसानले भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत शुरु गरिसकेको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताउनुभयो । कृषि ज्ञानकेन्द्र दार्चुला तथा विभिन्न सङ्घ संस्थाले तरकारी खेतीमा किसानलाई आधुनिक तरकारी खेतीको तालीम र बिउबिजन वितरण गर्न थालेपछि गाउँका किसान तरकारी खेती गर्न हौसिएका छन् ।