दार्चुला । दार्चुलामा बालबालिकालाई लक्षित गरी भोली पुस ५ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुदैछ । १२ देखि १७ वर्ष उमेर समूहका जिल्लाका २१ हजार ३३२ बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बिहिवार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १५ हजार ६०० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।पहिलो चरणमा पुस ५ गतेदेखि पुस ८ गतेसम्म अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई लगाइने छ ।
विद्यालयमै खोप केन्द्र राखेर खोप लगाइने छ । जसका लागि जिल्लामा १३६ खोप केन्द्र कायम गरिएको तथा २७२ स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।जिल्लामा बालबालिकाका लागि अपुग ५ हजार ७३२ डोज मोडर्ना खोप माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने जनाइएको छ तर तत्काल लगाउनका लागि कम तापक्रममा राख्न सकिन्छ । तीन ठाउँबाट नियमित खोप जिल्लामा तीन ठाउँबाट नियमित खोप अभियान सन्चालन गरेर कोरोनाविरुद्दको खोप दिइने भएको छ ।अहिले नेपाल भारत जोड्ने खलंगा पुलघाटबाट नियमित रुपमा खोप लगाइदैछ ।
शुक्रवार जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अध्यक्षतामा बसेको बैठकले थप दुई ठाउँबाट नियमित खोप सेवा संचालन गर्ने निर्णय गरेको छ ।जसका लागि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट सार्वजनिक बिदाको दिन बाहेक १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने छ ।