स्थानीय तहका १६१३ जना कर्मचारीको एकैपटक सरुवा

२ बर्ष अघि

२0७८ मंसिर २१ मंगलवार

स्थानीय तहका १६१३ जना कर्मचारीको एकैपटक सरुवा

काठमाडौँ । ​सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ती कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो । लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गर्दै लामो समयदेखि अन्तरस्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको बताएका थिए । मन्त्रिपरिषद्‍बाट स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गरेका थिए । गत वैशाख २० गतेअघि मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाका लागि आवेदन माग गरेको थियो ।